काठमाडौं । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलकुद मन्त्रालय अन्र्तगत प्राविधिक इन्जिनियरहरु नरहेको बताएका छन्। बुधबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै मन्त्री चौधरीले राष्ट्रिय खेलकुद परिषद्मा पनि प्रयाप्त मात्रामा धेरै इन्जिनियरहरु नरहेको बताएका हुन्।
उनले भने, ‘हाम्रो समस्या भनेको हामीसँग खेलकुद मन्त्रालयअन्र्तगत प्राविधिक इन्जिनियरहरु प्रयाप्त मात्रामा छैनन्। हाम्रो राष्ट्रिय खेलकुद परिषद्मा समेत इन्जिनियरहरु छैनन् । करारमा लिएर काम सञ्चालन गरिरहेका छौं। करारमा ल्याए पनि इन्जिनियरहरुको ठूलो कमी महशुस भएको छ।’
यसैगरी उनले नेपाली खेलकुद क्षेत्र अगाडि बढिरहेको बताए। उनले नेपाल किक्रेटले आफ्नो लयलाई अगाडि लादैँ गर्दा आर्थिक आर्जन राम्रोसँग गर्न सकिरहेको बताए। उनले भने , ‘खेलकुद अहिले निकै नै अगाडि बढिरहेको छ। जुन किसिमको नेपालमा किक्रेटले आफ्नो राम्रो लयलाई अगाडि बढाएर आर्थिक आर्जन गरिरहेको छ। यसरी नै खेल क्षेत्रले आर्थिक क्षेत्रमा विकास गर्न सक्छ । पर्यटनका क्षेत्रमा विकास गर्न सक्छ । खेलकुद खेलेर पनि बाच्न सकिन्छ यस्ता कुराहरु अगाडि बढीरहेका छन्।’



