काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले प्राथमिकताहरुको पनि प्राथमिकिकरण गर्ने क्रम सुरु गर्नुपर्ने बताएका छन्। शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा भएको बैठकमा उनले नेपालको सबै भाग पर्यटन गन्तव्य बन्न सक्ने भन्दै जहाँ आवश्यकता छ त्यही अनुसार काम गर्नुपर्ने बताएका हुन्।
उनले भने, ‘पर्यटन बोर्डमा दैनिक रुपमा दर्जनौं प्रस्तावहरु जाने गर्छन् जुन त्यो बोर्डको हैसियत भन्दा माथि छ। त्यसकारण हामी सबैले प्राथमिकताहरुको प्राथमिकिकरण गर्ने क्रम सुरु नगर्ने हो भने हामीले समस्यामा फसिसकेको अवस्थामा छौं। नेपालको कुन त्यस्तो टाकुरा, जमिन र भूगोल छैन जहाँ पर्यटन गन्तव्य बन्न सक्दैँन । त्यस्तो ठाँउहरुलाई प्राथमिकिकरण कसरी गर्ने भन्ने बारेमा हामी सबैको ध्यान जानुपर्छ। त्यो दिशामा पर्यटन बोर्डले आफूलाई अगाडी बढाउछ जस्तो लाग्छ।’
उनले पर्यटन बोर्ड पर्यटन क्षेत्रको सिर्जनशिल निकायको रुपमा रहे पनि जनशक्तिको अभावका कारण शाखा विस्तार गर्न कठिनाई भएको बताए। उनले भने, ‘पर्यटन बोर्डलाई हामीले पर्यटन क्षेत्रको सिर्जनशिल निकायको रुपमा लिएका छौं । यसले सिर्जनात्मक तरिकाले काम गर्नुपर्छ । पर्यटन बोर्डको शाखा विस्तार गर्ने कुरामा पोखरामा एउटा शाखा छ तर जनशक्तिको अभावले अन्य ठाँउमा शाखा विस्तार गर्नको लागि कठिनाई देखिन्छ । यस विषयमा छलफल गर्नुपर्नेछ।’
आगामी दिनमा हवाई, संस्कृती र पर्यटन नीति र नीति अनुसारका कानून बनाउने तयारीमा मन्त्रालय रहेको पनि उनको भनाई छ।
बैकठमा नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफल र नेपाल पर्यटन बोेर्डको कार्यसम्पादन स्थिति सम्बन्धी छलफल भएको छ।



