काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले लगनखेलमा सप्तपातल पोखरी र आर्मीबाट फिर्ता लिइएको ३० रोपनी जग्गासहित ४५ रोपनी क्षेत्रमा पोखरी र ग्रीनरी पार्क निर्माण गर्ने घोषणा गरेका छन्।

आइतबार राष्ट्रिय प्रकृति संरक्षण कोष, सदर चिडियाखानाको २९औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै महर्जनले यो योजनाबारे जानकारी गराएका हुन्। उनले भने, ‘लगनखेलमा सप्तो पातल पोखरी र आर्मीबाट फिर्ता लिएको ३० रोपनी जग्गा गर्दा ४५ रोपनी जग्गामा पोखरी, ग्रीनरी पार्कहरु बनाउँदै छौं । यो ठाँउको निमित्त पानीको व्यववस्थापन गर्नु आवश्यक छ।’

महर्जनका अनुसार परापूर्वकालदेखि चल्दै आएको राजकुलोलाई पुनः संचालनमा ल्याई सप्तपातल पोखरी र कमल पोखरीमा पानी पु¥याउने योजना छ। यो राजकुलो टिका भैरवबाट सुरु भई लगनखेलसम्म जोड्ने योजना बनाइएको छ।

तर, असोज ११ र १२ गते परेको भारी वर्षाका कारण राजकुलोको स्ट्रिम निर्माण कार्यमा समस्या आएको बताउँदै महर्जनले भने, ‘परापूर्वकालदेखि नै राजकुलो, सप्तो पातल पोखरी लगनखेलबाट १४.२ किलोमिटर दक्षिणपटि छ। टिका भैरवबाट राजकुलोमा आजभोली नै देखिने काम सुरु हुन गइरहेको छ । तर, एउटा दुखको कुरा हाम्रो यो प्रोजेक्ट लन्च गरिसकेपछि असोज ११÷१२ गते जुन किसिमले पानी पर्यो त्यसले नन्दुबाट टिका भैरवसम्म स्ट्रिम जोड्ने काममा अवरोध भएको छ।’

उनले आफ्नो कार्यकालका बाँकी दुई वर्षभित्र परियोजना सम्पन्न गर्न सकिने विश्वास व्यक्त गरे। ‘म चाहन्छु, यो फेरी मेरो दोस्रो कार्यकालको साढे दुईवर्ष भईसक्यो। अब साढे दुईवर्षमात्रै बाँकी छ। त्यो साढे दुई वर्षको दौरानमा राजकुलो ल्याएर लगनखेलको सप्तपातल पोखरी र कमल पोखरीमा कमलको फूल फुलाउने योजना छ । म कमलको फूल त फुलाउछु नै,’ उनले भने।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर