काठमाडौं : उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली समाजलाई फेक न्यूजबाट जोगाउन आग्रह गर्नुभएको छ ।
नेपाल टेलिभिजन कर्मचारी संघको आयोजनामा दिपावली, नेपाल संवत् र छठको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उहाँले फेक न्यूजलाई रोक्न जिम्मेवार सञ्चारमाध्यमहरुले भूमिका खेल्नुपर्ने बताउनुभएको हो । ‘आफ्नो पेशाबाट तपाईंहरुले नेपालका समाजलाई फेक न्यूजबाट होइन की सत्य समाचारबाट सूचित गर्नुस् ।
फेक न्यूजबाट नेपाली समाजलाई जोगाउन भूमिका खेल्नुस्’, उहाँले भन्नुभयो । त्यस्तै, अहिले व्यवस्था बदलियो अवस्था उस्तै छ भनेर गलत भाष्य स्थापित गर्ने प्रयास भइरहेको भन्दै व्यवस्था परिवर्तनसँगै अवस्था पनि परिवर्तन भएको उहाँको भनाई थियो ।
‘पहिला एउटा टेलिभिजन थियो, अहिले कतिवटा छ ? पहिला एउटा एयरलाइन्स थियो, अहिले कति छ ? बैंकहरु प्हिले कति थियो अहिले कति छ ? पहिला इञ्जिनियरिङ कलेज एउटा थियो, अहिले कतिवटा भइसक्यो ?’ उहाँले भन्नुभयो,‘ कोही आएर केही भनिदिए हुने ? कमन सेन्स प्रयोग गर्न नपर्ने ? ’ उपप्रधानमन्त्री सिंहले लोकतन्त्रमा सबैले अधिकारको कुरा गर्न पाउने तर त्यो सँगै जिम्मेवारी पनि विर्सन नहुनेतर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।



