काठमाडौं । दुई दशक लामो विद्यार्थी आन्दोलनको अनुभव बोकेका नेपाली कांग्रेसका युवा नेता बलदेव तिमल्सिनाले १५औँ महाधिवेशनमा खुला केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्। विद्यार्थी राजनीतिबाट पार्टीको मूलधारमा प्रवेश गरेका तिमल्सिनाले आफ्नो राजनीतिक यात्रालाई लोकतन्त्र, संगठन र युवा सहभागितासँग जोड्दै आएका छन्।
पशुपति क्याम्पसबाट विद्यार्थी राजनीतिमा सक्रिय भएका तिमल्सिना नेपाल विद्यार्थी संघ पशुपति क्याम्पसका अध्यक्ष, स्ववियु सचिव हुँदै महामन्त्रीको जिम्मेवारीसम्म पुगेका थिए। विद्यार्थी आन्दोलनका क्रममा पटक–पटक पक्राउ तथा घाइते भएका उनी शाही शासनविरुद्धको आन्दोलनमा पशुपति क्याम्पसबाट नेतृत्व गर्ने विद्यार्थी नेताका रूपमा सक्रिय थिए।
राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनाको बहस तीव्र हुँदै गर्दा विद्यार्थी आन्दोलनमार्फत लोकतान्त्रिक परिवर्तनको पक्षमा आवाज उठाएका तिमल्सिनाको राजनीतिक यात्रा सडक संघर्षसँगै संगठन निर्माणमा पनि केन्द्रित रह्यो। तत्कालीन ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनका बेला राजतन्त्र कि गणतन्त्र भनेर पशुपति क्याम्पसमा तिमल्सिनासहितकाे नेतृत्वमा जनमत संग्रह भएकाे थियाे । पछि याे अभियान देशव्यापी भयाे ।।
विद्यार्थी आन्दोलनबाट कांग्रेसको संगठनमा प्रवेश गरेका तिमल्सिनाले पछिल्लो समय पार्टीको आन्तरिक लोकतन्त्र, संगठन सुदृढीकरण र युवा पुस्ताको भूमिकालाई आफ्नो राजनीतिक प्राथमिकताका रूपमा अघि सारेका छन्। सार्वजनिक विवरणअनुसार उनी सिन्धुपाल्चोक क्षेत्र नं. १ बाट १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिसमेत निर्वाचित भएका छन्।
विशेष महाधिवेशनको प्रक्रिया अघि बढाउने क्रममा महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलनलगायतका गतिविधिमा समेत सक्रिय रहेका तिमल्सिनाले कांग्रेसलाई थप लोकतान्त्रिक, गतिशील र जनमुखी बनाउने उद्देश्यसहित केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताएका छन्।
विद्यार्थी आन्दोलनको मोर्चाबाट सुरु भएको राजनीतिक यात्रा अब कांग्रेसको केन्द्रीय नेतृत्वसम्म पुर्याउने प्रयासमा पुगेको छ। १५औँ महाधिवेशनमा खुला केन्द्रीय सदस्यका लागि ४५ पदमा ९२ जनाले उम्मेदवारी दिएका छन्, जसमा तिमल्सिना पनि छन्।




