काठमाडौं । वैज्ञानिक डा .जितेन्द्र उपाध्यायले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य (पेशागत विषय विज्ञ–क्षेत्र) तर्फबाट उम्मेदवारी दिने घोषणा गरेका छन्। देशभित्र तथा विदेशमा रहेर विज्ञान तथा पेशागत क्षेत्रमा सक्रिय रहँदै आएका उपाध्यायले पार्टीको केन्द्रीय नेतृत्वमा पेशागत क्षेत्रको प्रतिनिधित्व गर्ने उद्देश्यले उम्मेदवारी दिन लागेको बताएका छन्।
महाधिवेशनमा सहभागी करिब ७ हजार ८ सय प्रतिनिधिलाई सम्बोधन गर्दै उनले आफू सबै प्रतिनिधिसँग व्यक्तिगत रूपमा परिचित नहुन सक्ने भए पनि लामो समयदेखि आफूले पाउँदै आएको माया, विश्वास र साथलाई आफ्नो उम्मेदवारीको आधारका रूपमा लिएको बताएका छन्।
‘तपाईंहरूले मलाई आफ्नै साथी, भाइ, दाइ र छोराको रूपमा माया, विश्वास र साथ दिँदै आउनुभएको छ,’ उपाध्यायले भनेका छन्।
उनले नेपालभित्र मात्रै नभई विदेशमा रहँदा पनि देश, समाज र पार्टीलाई केन्द्रमा राखेर आफ्नो भूमिका निर्वाह गर्दै आएको दाबी गरेका छन्। व्यक्तिगत पहिचान निर्माणसँगै विभिन्न मुलुकमा नेपालको नाम, पहिचान र प्रतिष्ठा स्थापित गराउने उद्देश्यले आफू निरन्तर क्रियाशील रहेको उनको भनाइ छ।
उपाध्यायले महाधिवेशनका सबै प्रतिनिधिसम्म व्यक्तिगत रूपमा पुग्न नसके पनि आफ्नो उम्मेदवारीलाई साझा उम्मेदवारीका रूपमा लिएर सहयोग र समर्थन गर्न आग्रह गरेका छन्।
‘म तपाईंहरूमाझ पुग्न सकूँला, नसकूँला, मेरो उम्मेदवारीलाई तपाईंहरूको आफ्नै उम्मेदवारी मानेर सहयोग गर्नुहुनेछ भन्ने आशा गरेको छु,’ उनले अपिल गरेका छन्।
पेशागत तथा विषय विज्ञ क्षेत्रबाट केन्द्रीय नेतृत्वमा उम्मेदवारी घोषणा गरेका उपाध्यायले आफ्नो अनुभव र विज्ञतालाई पार्टी तथा मुलुकको हितमा उपयोग गर्ने उद्देश्य रहेको बताएका छन्।




