काठमाडौं । पेरिस ओलम्पिक २०२४ सकिएको छ। गत जुलाई २६ मा औपचारिक रुपमा शुरु भएको यस ओलम्पिकमा अमेरिका र चीनले बराबरी स्वर्ण पदक जितेका छन्।
तर, अमेरिका पदक तालिकाको शीर्ष स्थानमा रह्यो। कुल १२६ पदक हात पारेको अमेरिका ४० स्वर्ण, ४४ रजत र ४२ कांस्यसहित शीर्षस्थानमा रहन सफल भएको हो। टोकियो ओलम्पिकमा अमेरिकाले ३९ स्वर्णसहित ११३ पदक जितेको थियो।
यसअघि ४० स्वर्ण पदकसहित शीर्ष स्थानमा रहेको चीन भने दोस्रोमा झरेको छ। चीनले ४० स्वर्णसहित २७ रजत र २४ कांस्य गरी कुल ९१ पदक जितेको छ। प्रतियोगिताको अन्तिम दिन आइतबार १३ स्वर्णको लागि प्रतिस्पर्धा भएको थियो।
अन्तिम दिन दुई पदक जितेर जापान तेस्रो भएको छ। जापनले २० स्वर्णसँगै १२ रजत र १३ कांस्य गरेर ४५ पदक जितेको हो। अस्ट्रेलिया १८ स्वर्ण, १९ रजत र १६ कांस्य गरी ५३ पदक जितेर चौथो भएको छ।
आयोजक फ्रान्स पाँचौँ स्थानमा पुगेको छ। कुल ६३ पदक जितेको फ्रान्सले १६ स्वर्ण जितेको छ। पेरिस ओलम्पिक २०२४ मा सहभागी २०६ मध्ये ६२ देशले स्वर्ण पदक जितेका छन् भने ९१ देशले पदकको खाता खोलेका छन्।
पेरिस ओलम्पिकमा नेपालबाट सहभागी सात खेलाडीमध्ये पौडीका एलेक्जेन्डर शाहले एक सय मिटर फ्री–स्टाइलमा राष्ट्रिय रेकर्ड बनाउनुबाहेक उनीसहित अरू खेलाडी पहिलो चरणबाट नै बाहिरिएका थिए। टेबल टेनिसका स्यान्टु श्रेष्ठ, पौडीकी डुवाना लामा, ब्याडमिन्टनका प्रिन्स दाहाल र जुडोकी मनिता श्रेष्ठ प्रधान पहिलो चरणबाट बाहिरिएका हुन्।
महिला म्याराथनमा सन्तोषी श्रेष्ठले ७९ औँ स्थानमा रहँदै दौड पूरा गरेकी छिन्। ३३औँ संस्करणको ग्रीष्मकालीन ओलम्पिकको समापन समारोह स्टेड डे फ्रान्समा गएराति भएको छ।



