काठमाडौं : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अब्दूल सतारले मन्त्री छनाैट समावेशी नभएकाे भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । आज ललितपुरस्थित कुपन्डोलमा रहेको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनको आयोजन गर्दै काङ्ग्रेसको भातृ संस्था नेपाल मुस्लिम सङ्घ पुर्व अध्यक्ष समेत रहेका सतारले पार्टी नेतृत्वले मुस्लिम समुदायलाई वेवास्ता गरे पार्टीमा मुस्लिम, दलित र जनजाति, आदिवासीकाे तेस्राे गुट बन्ने चेतावनी दिए ।
उनले भने,‘सरकारमा हरेक समुदायको प्रतिनिधित्व गराउने र अपनत्व दिने काम पार्टीको हो । यसमा भने यसपटक पार्टी नेतृत्व चुकेको देखियो । यो गल्तीलाई अब बन्ने प्रदेश सरकारमा नसच्याए विद्रोह हुन् सक्छ ।’
उनले पार्टीको समानुपातिक समावेशी विधानको अभ्यासबाट काङ्ग्रेस पछि हटेको भन्दै असन्तुष्टी व्यक्त गरे । सङ्घका अध्यक्ष अताबुल मञ्सुरीले बलिदान, त्याग र सङ्घर्षबाट प्राप्त समावेशी लोकतन्त्रिक संविधान निर्माणमा नेपाली मुस्लिमहरुको उल्लेखिय योगदान रहेको सन्दर्भ काङ्ग्रेस नेतृत्वले भुलेको भन्दै दुःख व्यक्त गरे ।
‘विभिन्न चरणरमा काङ्ग्रेस पार्टी सरकारमा सामेल हुँदा समेत कुनै पनि मुस्लिम सांसदलाई सरकारमा सामेल नगराउनु आफैमा त्रुटि पूर्ण छ । अहिलेको सरकार मुस्लिम, दलित विहिन हुनु दुःखद हो’, उनले भने । कार्यक्रममा उपस्थितले मुस्लिमसहित हरेक समुदायलाई सरकार निर्माणका क्रममा प्रतिनिधित्व गराउनु पर्नेमा जोड दिएका थिए ।



