काठमाडौं । क्रिकेट एक्सिलेन्ट सेन्टर काठमाडौं र काठमाडौं जिल्लाले एनसीसी महिला तथा पुरुष ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेका छन् ।
शनिबार सम्पन्न फाइनलमा पुरुषतर्फ क्रिकेट एक्सिलेन्ट सेन्टर काठमाडौंले भक्तपुर क्रिकेट सेन्टर डकवर्थ लेविस पद्धति (डिएलएस)मा १२ रन र महिलातर्फ काठमाडौंले ललितपुर जिल्लालाई सुपर ओभरमा आठ रनले पराजित गर्दै उपाधि जितेका हुन् ।
वर्षाले प्रभावित पारेको पुरुषतर्फको खेलमा भक्तपुरले काठमाडौंलाई १२२ रनको लक्ष्य दिएको थियो । तर, काठमाडौंले १६.१ ओभरमा तीन विकेट गुमाउँदै १११ रन बनाएर ब्याटिङ गरिरहँदा वर्षा हुन सुरु भयो । वर्षा नरोकिएपछि खेलको छिनोफानो डिएलएसबाट गरिएको हो । डिएलएसमा काठमाडौंले १०० रनको लक्ष्य पाएको थियो । तर, १११ रन बनाइसकेको कारण काठमाडौं १२ रनले विजयी भएको घोषणा गरियो ।
वर्षा हुनुअघि काठमाडौंका दीपेन्द्र रावतले ३४ बलमा अविजित रहँदै ३८ रन बनाएका थिए । शिवम तिवारीले ३१ बलमा अविजित ३८ रन बनाएका थिए । रित गौतम १९ रनमा आउट भए । भक्तपुरका दीपक बोहराले २८ रन खर्चिएर सर्वाधिक दुई विकेट लिए । पूर्ण थापाको नाममा एक विकेट रह्यो ।
त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको भक्तपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२१ रन बनायो । भक्तपुरका पूर्ण थापाले ४६ बल खेल्दै सर्वाधिक ५३ रन बनाए । अरुण ऐरी २७ रनमा आउट हुँदा इर्शद अहमद २१ रनमा अविजित रहे ।
काठमाडौंका राज बमले २२ रन खर्चिएर सर्वाधिक २२ रन लिए । दयानन्द मण्डलले दुई र मोनसन सिंहको नाममा एक विकेट रह्यो । खेलको प्लेअर अफ दी म्याच काठमाडौंका दीपेन्द्र रावत भए ।
महिलातर्फको खेल भने टाई भएको थियो । ललितपुरले दिएको १३२ रनको लक्ष्य पछ्याएको काठमाडौंले नवौ विकेट गुमाउँदै १३१ रन नै बनायो । त्यसपछि खेल सुपर ओभरमा गएको थियो ।
काठमाडौंकी विपिशा शाहीले ३३ बलमा सर्वाधिक ३५ रन बनाइन् । करिश्मा गुरुङ २१ र अस्मिता खरेल २० रनमा आउट भइन् । ललितपुरकी स्वेता गुप्ताले २८ रन खर्चिएर सर्वाधिक दुई विकेट लिइन् । मनीषा उपाध्याय र यशु पाण्डेले समान एक विकेट लिइन् ।
सुपर ओभरमा एक विकेट गुमाउँदै १० रन बनाएको थियो । काठमाडौंकी कञ्चन श्रेष्ठले दुई बलमा चार रन बनाइन् । विपशा शाही र करिश्मा गुरुङले समान एक रन बनाइन् । बाँकी दुई रन भने काठमाडौंले अतिरिक्त पाएको थियो । तर, ११ रनको लक्ष्य पछ्याएको भक्तपुरले भने दुई विकेट गुमाउँदै दुई रनमात्रै बनाउन सक्यो । सुपर ओभरमा काठमाडौंकी संस्कृति फुयाँलले दुई रन खर्चिएर दुई विकेट लिइन् । खेलको प्लेअर अफ दी म्याच काठमाडौंकी विपाशा शाही भइन् ।





