काठमाडौँ । भारतीय फुटबल टोलीका भेट्रान्स कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन्।
सुनीलले बिहीबार सामाजिक सञ्जाल एक्समा एक भिडियो सन्देशमार्फत सन्न्यास लिने घोषणा गरेका हुन्।
फिफा विश्वकप छनोटअन्तर्गत कुवेतविरुद्ध जुन ६ मा हुने खेलपछि उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने छन्।
३९ वर्षीय स्ट्राइकर सुनीलले भारतीय टोलीमा महत्त्वपूर्ण योगदान दिएका छन्। यू-२० र यू-२३ टोलीबाट आफ्नो परिचय बनाएका उनले सन् २००५ मा सिनिअर टोलीमा डेब्यू गरेका थिए।
सुनिल क्षेत्रीले भने, ‘देशका लागि पहिलो पटक खेल्ने मौका पाएको दिन म कहिल्यै बिर्सन सक्दिन। म्याचअघि राष्ट्रिय टोलीका प्रशिक्षक सुकी सर मसँग आएर आफ्नो यात्रा सुरु गर्न लागेका हुन् भन्नुभयो। म त्यो भावना बिर्सन सक्दिन।’
क्षेत्रीले १५० खेलमा ९४ गोल गरेका छन्। अन्तर्राष्ट्रिय फुटबलमा रोनाल्डो (२०५ खेलमा १२८ गोल) र मेस्सी (१८० खेलमा १०६ गोल) पछि क्षेत्रीले सर्वाधिक गोल गर्ने खेलाडी हुन्।
भारतका लागि सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडी पनि सुनिल क्षेत्री हुन्।
पूर्वकप्तान तथा स्ट्राइकर भाइचुङ भुटियाको सन्न्यास पछि भारतीय टोलीमा उनले अग्रपंतीको जिम्मेवारी लिएका थिए।



