रङ्गमञ्चमा
सत्ता र सदनको सेट लगाइएको छ
सूत्रधार बहुरुपि अनुहारमा
भट्याउँदैछ पात्रहरुको परिचिति
धनुष्टंकार शरीर देखिए पनि
पोर्डियम भन्दा सिधा देखिन खोज्दैछ
बांग्गो चाल/कुटिल हाँसो र दृष्टि
हैकमी चरित्र
सीधा ठडिएको भावमा अभिनय गरेको
के सुहाउँथ्यो र बुख्याचालाई
कहिले कोट
कहिले मुखुण्डो
कुर्था र जिन्स
लाग्दो हो सुटेड बुटेड छु
लाग्यो गुन्डोको पहिरनमा देखिनेले
के हाक्लान् र समयको नाटक
पर्ती जग्गा
रातो पासपोर्ट/सुन/सरणार्थी
अनेक छन् नाटकको विषय
छेउमा अदालत
अनिर्णयको बन्दी छ
नौटङ्कीहरू केवल नाटक देखाउँछन्
र, छाट्छन् आश्वासनको वेतुके संवाद
गीत पनि छ नाटकमा
जनवादी/उग्रवादी
खाओवादी छद्मे पात्र छन्
पोशाक लगाए पनि
नाङ्गा देखिने खल पात्र छन्
सुन्दर भन्नु त कुर्सी मात्र छ
कोही नेपथ्यबाट कराउँछन्
मुर्दावाद/जिन्दावाद
बेमौसमी बाजा बज्छ
राम्रो भन्नु त केही अंश नै छैन्
छन् त केवल व्यक्तिगत स्वार्थका दृश्यहरू
कृत्रिम पात्र
कृत्रिम संवाद
कृत्रिम प्रधानमन्त्री र मन्त्रीहरू
कृत्रिम न्यायाधीश
कृत्रिम प्रहरी
मन नै फोहर भएकाले
के देखाउन सक्थे देशको नाटक
दर्शकदीर्घाको मेरै छेउमा
हुनुहुन्थ्यो नेपाल आमा
नाटकको नाट्यांश हेरेर
अकस्मात चिच्याउनु भयो
र, थुक्क थुक्दै आवेशमा भन्नुभयो
धिक्कार छ तिमी जस्ता
नालायक पात्रलाई
नाटकमा न देश छ
न विकासवाद छ
न राहत छ, न उर्जा छ
न चिन्तान छ राष्ट्रियताको
सत्तालिप्साको नाटक मञ्चन गरेर
कसरी जितिन्छ जनताको मन
रङ्गमञ्च खाली भयो
दर्शक आमातर्फ हेरेर स्तबध भए
उठे आ-आफ्नो सिटबाट
दौड्दै बाहिर निस्के
झुट बोल्ने र नौटङ्की गर्न खप्पिस
तमाम पात्रहरुलाई लखेट्न थाले
म पनि दौडे
लाग्यो अरु पनि थुप्रै नाटकेहरुलाई
यसैगरी लखेटौं
र, हेरौं शान्त नेपाली नाटक।
नाटकको अंश
लेखक : ऋषभदेव घिमिरे



