काठमाडौं । सर्लाहीको चन्द्रनगर गाउँपालिका–३ बरकुर्वाकी चैनियादेवी बिन मुखिया काठमाडौं उत्रिएको तीन दिन भयो। दुई साता पैदल हिंडेर काठमाडौं आएकी उनी मिटरब्याज पीडित हुन्।
उनले साहुबाट सुरुमा ३ लाख ६५ हजार ऋण लिएको थिइन्। तर, साहुले मिटरब्याजी हिसाबले उक्त ऋणको ब्याज जोडेर ९ लाख ९५ हजारको तमसुक बनाएर हस्ताक्षर गराए। त्यसपछि उनी घरवीहिन भइन्।
साहूले ९ लाख ९५ हजार बराबरको नौं धुर जग्गा लिए। चैनियादवीको घर पनि त्यही जग्गामा भएकाले घर र जग्गा दुबै साहूले कब्जा गरिदिए। ‘कब्जा गरेको घर, जग्गा बराबरको पूरा पैसा दिए मात्रै फिर्ता दिन्छु नत्र दिन्न भन्छन् साहू’, उनले भनिन्। त्यसपछि उनी जिल्ला प्रहरी कार्यालय पुगिन्। उजुरी दिइन् तर सुनुवाइ भएन्।
विन्दु चौधरी भन्ने साहूबाट पीडित चैनियादेवी घरबारवीहिन भएपछि सरकारसँग न्यायको माग गर्दै उनी काठमाडौंसम्म आइपुगेकी हुन्। ‘सरकारले घर फिर्ता नगर्ने हो भने वा बस्ने स्थानसम्मको व्यवस्था नभए म यहीं मर्न तयार छु। सडकमै सुत्न तयार छु,’ उनले भनिन्। घरमा बालबच्चालाई छाडेर न्यायको खोजीमा काठमाडौं आएकी उनलाई सरकारले केही गर्छ भन्ने आशा थियो तर. पछिल्ला तीन दिनमा केही प्रगति नभएको उनको दुखेसो छ।
उनले भनिन्, ‘महाजन विन्दु चौधरीसँग ३ लाख ६५ हजार लिएको हुँ। ३ लाख ६५ हजारको ९ लाख ९५ हजार व्याजसहित तमसुकमा हस्ताक्षर गर्न लगाउनुभयो। हस्तक्षर गरेपछि गरेपछि नौं धूर जग्गा उहाँको नाममा गयो। घर जग्गा उहाँले नै अदालतमा केश हालेर जित्नुभयो। पूरा पैसा दिए मात्रै घरजग्गा फिर्ता दिन्छु भन्नुहुन्छ नत्र दिन्न भन्नुहुन्छ।’
‘जिल्लाको पुलिसले केही गरेन। विन्दु चौधरी नै हो हामी माथि अत्याचार गर्ने, हामीसँग बस्न घर छैन। हामीलाई घरबाट निकालिदियो। प्रक्रिया मिलाएर हाम्रो हाम्रो घर फिर्ता गरिदिनु, हामीमाथि धेरै अत्याचार भएको छ। यस्तै, हो भने हामी घरमै फाँसी लगाएर वा विष खाएर मर्नपर्छ। हाम्रो जाने स्थान पनि छैन्,’ उनले विलौना सुनाइन्।
उस्तै पीडा छ महेन्द्रनगरकी पवित्रादेवी मण्डलको परिवारको पनि। न्याय पाइन्छ की भन्ने विश्वासका साथ आएकी उनी पनि सरकारले केही गर्न नसकेको गुनासो गर्छिन्। ‘यो सरकार घुस लिएर हामी सबैलाई मार्नेतर्फ लागि रहेको छ,’ उनले भनिन्। ‘हामी त्यतिकै काठमाडौं आएका होइनौं। धेरै पीडा बोकेर आएका छौं । बैंक र गाँउ दुवैबाट पीडित छौं’, उनले भनिन्, ‘यस्तो पीडा सरकारले किन सुन्दैन् ? बस्ने ठाउँ किन दिंदैंन् ? हामी रोडमा छौं।’ ‘गाँउमा गयो भने महाजन र बैंकले मार्छ भन्ने त्रास छ । सरकारसँग ६ बुदेँ माग राखेका छौं पुरा गरिदिनुपर्यो नि। माग नभएसम्म हामी यहीं बस्छौं, यहीं मर्छौ,’ उनले भनिन्।
धनुषाको धनुषाधाम नगरपालिका २ का जुगेन्द्र यादव पनि उस्तै समस्याबाट पीडित छन्। उनलाई साहूले दिनुहुँ धम्क्याउने र तर्साउने गरेको बताउँछन्। ‘जग्गा राखेर ३६ प्रतिशत ब्याजदरले दुई करोड पाँच लाख रुपैयाँ तिरेको छु। पहिला तीन प्रतिशतमा लोन लिएको हो अहिले बढाएर १३ –१४ प्रतिशत पु¥याएको छ’, उनी भन्छन्।
‘अहिले जग्गा बैंकले धमाधम लिलामी गरिरहेको छ। धमक्याउने–तर्साउने गरिरहेको छ। दलालहरु घरमा पठाउँछ र धम्याउने काम भएको छ। एक लाखको पाँच पाँच लाखसम्म बनाएको छ,’ उनले दुखेसो सुनाए। पाँच लाख लिनेहरुको ३० लाख रुपैंयाँसम्म पुर्याएको, साहुलाई पटक पटक गर्दै ऋण दिइसक्दा पनि जग्गा फिर्ता नगरेको उनको भनाइ छ। पीडित झनै पीडित भइरहेको, कानुन पालना नभएको र सरकारले पनि पीडितको मर्का नबुझेको उनको गुनासो छ।



