फागुन ३ काठमाडौँ । महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको बस कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । चालकसमेत गरी ३० जना घाइते भएका छन्।
सुनौलो महाकाली यातायातको सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको बस बुधबार राति साढे १२ बजे सडकबाट झन्डै सय मिटर तल खोलामा खसेको थियो। दुर्घटनामा परेर ३ महिलासहित १० जनाको ज्यान गएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए। दुर्घटना कपिलवस्तु र दाङको सीमा क्षेत्र आसपास हो।
उनका अनुसार बसमा ४० जना यात्रु थिए। घाइते ३० जनामध्ये ९ जनालाई उपचारका लागि बुटवल रिफर गरिएको छ भने अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको छ।
मृत्यु हुनेहरूको सनाखत भइसकेको छैन। मध्यरातमा दुर्घटना भएका कारण घाइतेको उद्धार र उपचारका लागि समस्या भएको छ।



