जनकपुर । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले अधिकारका लागि एक्लाएक्लै उठेका आवाजबाट दबाब सृजना नभएकाले मुलुकमा राष्ट्रिय क्रान्तिको आवश्यकता रहेको बताएका छन्।
जनकपुरधाममा मंगलबार कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले अधिकारका लागि एकलरुपमा लड्दै आइरहेकै कारण हारको सामना गर्नुपरिरहेको बताउदै अब एकीकृत भएर राष्ट्रिय आन्दोलनको खाँचो रहेको बताए।
उनले भने, ‘नेपालमा विभिन्न राष्ट्रियताको पहिचान छ, तर शासकले यसलाई स्वीकार गर्न चाहेको छैन।’
भारतमा अहिलेसम्म एउटै संविधान निर्माण भएको र आवश्यकता रहेको बेलामा संशोधन गरिरहँदा विश्वको तेस्रो शक्तिशाली देशमा आउन सफल भएको उदाहरण उनले दिए। नेपालमा अहिलेसम्म सातवटा संविधान बने पनि जनतालाई अधिकारबाट बञ्चित गरेकै कारण विकसित हुन नसकेको उनको भनाइ थियो।
उनले अघि भने, ‘नेपाल मधेश, थारु, जनजाति लगायतका विभिन्न राष्ट्रियता मिलेर बनेको छ तर शासन र संविधान सोअनुसार बनेको छैन। पृथ्वीनारायण शाहले नेपालको निर्माण गर्दा एउटा नारा दिएका थिए, नेपाल चार वर्ण र छत्तीस जातको साझा फुलबारी हो। तर, अहिले उक्त कुराको मनन् भएको छैन। अहिले एकल राष्ट्रियता हाबी छ।’




