काठमाडौं : भारतको लोकसभाका सभामुख ओम बिरलासँग बुधबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका अध्यक्ष राजकिशोर यादवको नेतृत्वमा रहेको उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलसँग संसद भवनमा भेटवार्ता भएको छ ।
प्रतिनिधिमण्डलको भ्रमणको उद्देश्य कूटनीतिक सम्बन्धलाई मजबुत बनाउने र दुई देशबीच पर्यटन उद्योगमा अझ नजिकबाट काम गर्ने अवसर खोज्ने रहेको छ ।
भारत भ्रमणमा जानेमा अध्यक्ष यादवसँगै सांसदहरु सुनिता बराल, छिरिङबहादुर ल्हामु लामा तामाङ, एकमान थपलिया, योगेश गौचन, हरि उप्रेती, शिशिर खनाल र गंगाराम चौधरी रहेका छन् ।
भारतीय संसदीय समितिको निमन्त्रणामा दिल्ली विमानस्थलमा भब्य स्वागतका साथ हिजोको भ्रमण सुरु भएको हो । भारतीय संसदका सहसचिव तथा प्रमुख प्रोटोकल अफिसरले नेपालका तर्फबाट समूहलाई बधाई दिँदै द्विपक्षीय सम्बन्धलाई प्रगाढ बनाउन भ्रमणको महत्वमा जोड दिएका थिए ।



