-ऋषभदेव घिमिरे

अर्थपूर्ण छ,सहिदको अर्थ
सत्य युगको कुरा बेग्लै हो
पौराणिक युगमा राजाहरू
समय-सम्वेदनाका बैज्ञानिक,दार्शनिक
र, अरु थुप्रै थुप्रै अकारण हुतात्मा भएका छन
हृदयत: सबै सहिदमा सलाम !

“आफ्नो  देश,संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रता प्राप्तिको लागि बलिदान भएर लोक हितमा लाग्ने अमर व्यक्ति सहिद हुन” यही भन्दछ  सहिदका लागि बृहत् शब्दकोषको परिभाषा ।
कहाँ यति मात्र  सिमित छ सहिदको परिभाषा,योगदान र महत्त्व ।
सहिद प्रेरणा हो,उत्पेरक हो, न्याय समानता,उन्मुक्तिका निमित्त  स्वतन्त्रताको संवाहक भएर कुनै पनि लोभ,लालच र प्रलोभनमा नपरेको अजर अमर शब्दको गहन महिमा हो सहिद । जसले कठिन भन्दा कठिन घडीहरू पार गरेर, कहालीलाग्दा दिन र भयानक संघर्षबाट कत्ति विचलित नबनेर आफ्नो ज्यान बचाउने विकल्पहरूलाई हाँसीहाँसी अस्वीकार गरेर मृत्युु वरणलाई सहर्ष स्विकार्ने आस्थाले पूज्य सपुतको अर्को नाम हो सहिद ।
संसारका सबै सहिदहरू स्तुत्य हुन्छन् । निर्विवाद हुन्छन् सच्चा सहिदहरू । सहिद समयका सारथी,राष्ट्रका गौरव र विभूति हुन । थुप्रै राष्ट्रहरू सहिदका रगतले सिंचित छन, मुलुकलाई उपनिवेशबाट स्वतन्त्रता तिर लैजान, अन्यायपूर्ण अबस्थाबाट न्याय तर्फ जनता,समाज र राष्ट्रलाई सार्वभौम बनाउन,क्रुर जहाँनीया शासन र शासकका बिरुद्ध जनताका पक्षमा लागि पर्दा सहादत हुने व्यक्तिहरू नै इतिहासमा सहिद कहलाएका छन ।
व्यतीत समयमा इतिहास नै थिएनन् । अलिखित सहिदहरू कति भए र थिए भन्ने लेखाजोखा  छैन । जब इतिहास लेखनको प्रारम्भ भयो सहिदको पनि इतिहास बन्न थाल्यो, र पनि अनगिन्ती क्रान्तिका अग्रणी सहिदहरू क्रान्ति कै धुवाँमा हराए होलान् भन्ने लाग्छ । आफूसँग मतान्तर राख्ने कति सहिद, शासकका बगैचामा पुरिँदा पनि पत्तो भएन होला। स्वतन्त्रता र न्यायको लागि लडेका कति सहिदका परिवार बेखबर भए होलान या इतिहास विजेताको बन्छ भने झै इतिहासको पानाबाट नै हराए होलान् सहिदको नाम,वतन र रगतको रङ । कतिपय भोजपत्र,  ताडपत्र, शिलालेख आदि प्रामाणिक  इतिहासहरू नदि,इनार र पोखरीमा विलुप्त पारिए होलान् ।उत्खननबाट पनि नभेटिने गरि नष्ट गरिए होलान् कति कति सहादत सहिदको पवित्र भूमि र सपनाहरू ।

सहिदका कुरा लेखिरहदा म प्रत्यक्ष टुँडिखेल अगाडिको सहिद गेट छेउमा उभिएर सहिद प्रति सम्मान अर्पण गर्दै सलाम ठोकेर उभिएको महसुस गरिरहेको छु । ललितपुरको पाटनढोकाबाट गुडेको बस इनार,कुपोन्डोल , थापाथली, सिंहदरबारहुदै सहिदगेट आएर रोकिन्थ्यो।अहिले जस्तो सडक भिडभाड थिएन । सवारीको चाप पनि न्यून नै थिए । नरदेवीमा थियोे मेरो बुढामावली । तिथि पर्वमा बासंग आउदा जाँदाको कुरा हो यो । बाले नै पहिलोपटक सहिद र सहिदगेट बताउनु भएको । सहिद के हो भन्ने त निकै पछि बुझे तर सहिदगेटमा बसबाट ओर्लेर सहिदगेट हेरेको पहिलो र रमाइलो  क्षण अझै स्मृतिमा ताजा छ ।
अनगिन्ती पटक हिंडियो टुँडिखेल,भद्रकाली र सहिदगेटको बाटो,कहिल्यै नरमाइलो लागेन सधै नयाँ र ताजा यात्रा लागिरह्यो ।सायद सहिदको पवित्र बासस्थान भएर होला । उतिबेला सहिदगेटको बाटो अहिले जस्तो एकतर्फी थिएन ।दुबै तर्फबाट सवारी चल्थे,आउदा-जादा परिक्रमा हुन्थ्यो सहिदको । त्यहाँ पुगेपछि सवारी चालकका हात स्वचालित रुपमा हर्नमा पुग्थे र मधुरो ध्वनिले हर्न पिँ गरेर बज्थ्यो,एकाएक यात्रुका आँखा श्रद्धाले चिम्म भए झै लाग्थ्यो । मेरा आँखा पनि चिम्म हुन्थे र अझैसम्म हुन्छन् पनि। अगाध श्रद्धा र आस्थाको ठाउँ लाग्छ मलाई सहिदगेट ।
राणा कालिन जहानीयाँ शासनको बर्बरतापूर्ण अबस्था प्रति बिद्रोहको बोली बोलेर देश र जनतालाई स्वाधीन र सार्वभौम बनाउने गहन उद्देश्यमा लागेका वीर सपुत दशरथ चन्द,गंगालाल,धर्मभक्त र शुक्रराजको बलिदानी नै सहिदको ऐतिहासिक काल बन्यो ।
सहिद भएका थुप्रै कालखण्डहरू छन । हामीले मिथक भनेका पौराणिक ग्रन्थ र बिश्व इतिहासका अनेकन दलिलहरूमा समेत समयका सारथि सहिद हुनाको कारण र प्रसंगहरू प्रसस्त पाइन्छन् । कतिपय अबस्थामा अकनण्टक कारणबाट पनि सहिद भएका दृष्टान्तहरू छन हामीसंग । कतै सत्ता इतर त कहिले  अनन्त पूण्यको कामनामा स्वयंको आज्ञाकारीताले सहिद हुन पुगेका केही हुतात्माको प्रतिकात्मक कुरा राख्न मन लाग्यो । यथोचित स्विाकार होस् ।

हाम्रो मुलुकका सहिदहरुको  सन्दर्भमा अनेकानेक धारणा र टिप्पणी उठने गरेको छ । सहिद आलोचनाबाट माथि हुनु पर्दछ । सहिद आस्था,बिश्वास र आदर्शताको प्रतीक हो । दल,संगठन,मोर्चाका आधारमा सहिदको वर्गीकरण गरिनु हुदैन।

राजा निमी गुरु वशिष्ठको अनाहकपूर्ण श्राप सहन गर्न नसकि मृत्यु वरण गर्न बाध्य भए । ऋषि अथर्वाका छोरा दधिचि सामाजिक हित र वृत्रासुरको उपद्रवबाट समाजलाई उन्मुक्ति दिन आफ्नो शरीर सहित आत्म बलिदान दिएका कारण हुतात्मा बने । धर्म संस्थापनाका लागि पृथु राजाका छोरा बेनको हत्या गरियो । मानवसेवामा काम गर्दा प्रमिथसको हत्या भयो । तात्कालिक  पश्चिमी साम्राज्यवादी शक्तिले सुकरातलाई हेम्लक नामक विष सेवन गर्न विवश तुल्यायो र उनी पश्चिमी समाजको पहिलो सहिद बने । आदि दास शोषण र दमनका बिरुद्ध आवाज उठाएका कारण स्पार्टाकसलाई भयंकर यातना दिइ मार्ने काम भयो । एसुख्रीष्ट,बैज्ञानिक जर्दानो ब्रुनो आदि जस्ता थुप्रैलाई निरंकुश राज्यसत्ताको बिरोध,जातीय दमन,धार्मिक शोषण लगायतका कपोकल्पित बहानामा सहादत हुनु परेका प्रसस्त घटना साक्षी छन,सहिदका सवालमा। यति परिदृश्य राखि सकेपछि अब आफ्नै मुलुकको सर्वोपरि हितका निमित्त सहिद हुनु परेका सपुतका कुरा गरौं । जसले हामीलाई निरंकुशताबाट उन्मुक्ति दिए । वाक तथा लेखन स्वतन्त्रता दिए। तिनै सहिदका सपनाहरू हुन, आजको वाक स्वतन्त्रता, लेखन स्वतन्त्रताको छुट र सार्वभौम अधिकार।
हामीसँग सहिद छन ।सहिदको सपना छ । इतिहास छ ।इतिहासको गर्तमा लुकेका अझ थुप्रै अध्याराहरू छन ।सहिदको सपनालाई सजाउन र इतिहालाई झल्झलाकार पार्न सहिदका सवालमा हामीले केही गर्नु आवश्यक छ ।

मुलुकको राजनीतिक तथा सामाजिक संघर्षका  ऐतिहासिक चरणहरूमा थुप्रैले वीरगति प्राप्त गरे तापनि सुगौली सन्धिपूर्व मात्र सहिदको परिभाषामा केही अर्थपूर्ण ढंगले परिभाषित गरियो । अतः सुगौली सन्धि पछि बनेको नेपाल राज्यको राजनीतिक,सामाजिक तथा आर्थिक परिवर्तनको क्रममा प्राण उत्सर्ग गर्ने निस्वार्थ व्यक्ति नै सम्मानित  र श्रद्धेय सहिद  बन्न पुगे । नेपालको  इतिहासमा प्रथम सहिदका रुपमा  लखन थापा(मगर)लाई मान्ने काम भयो। सामान्यतः देश,समाज र जनताको सर्वोपरि  उन्नयन वा राष्ट्रको स्वाधीनता र अखण्डताको रक्षाका निमित्त जीवन बलिदान गर्नेलाई सहिदको रुपमा हामीले सम्मान गर्दै आएका छौ । सहिद प्रतिको सम्मान अक्षुण्य रहनु पर्दछ ।
राणा शासन विरुद्धको संगठित राजनीतिक संघर्षका  क्रममा सहादत वरण गर्ने चार सपूत धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्रीलाई हामी सबैले सहिद मान्दै आएका छौँ । त्यतिबेला बिना संझौता ती सच्चा देशभक्तहरूले देश र जनताको हितका लागि तातो गोली खाएका थिए । सहर्ष फासीमा चढ्न स्विकार्दै प्राणको आहुती दिएर सहिद भएका थिए । सबै सहिदमा सलाम । ती महान व्यक्तित्वहरूले  निरंकुश राणा शासनबाट देश र जनतालाई उन्मुक्ति दिन जस्तोसुकै परिस्थितिलाई पनि सामना गर्ने र जे-जस्तो त्याग र बलिदान गर्न पनि पछि नहट्ने प्रतिबद्धता स्वरुप श्रीमद्भागवत गीता टाउकामा राखि शपथ खाएका प्रसंग हामीले सुनेको वा  पढेकै विषय हो । गीता शिरमा राखेर आफूलाई उत्सर्ग गर्ने सहिद अमर आत्माका प्रतिक हुन । आत्मा न जन्मन्छ न मर्छ भनेर गीताले भने झै सहिद पनि कहिल्यै नमर्ने अमरताको प्रतिरुप हो । सहिद राष्ट्रिय महत्त्वका अमूल्य विभूति हुन ।
मैले सहिद र विभूतिलाई सँगै राखे तापनि सहिद र  विभूति फरक हुन । राष्ट्रिय सहिद र राष्ट्रिय विभूतिको परिभाषामा पनि हामीले फराकिलो धारणा बनाउन बाकी नै छ। राज्यले सहिदलाई  सुदृृढ र भावनात्मक आधारमा विशिष्ट सहिद सम्मान अर्पण गर्नु जरुरी छ। सहिदलाई कुनै वर्गीय, लिंगीय, जातीय र सम्प्रदायबाट माथि राखेर साझा सम्मान दिने अबस्थाको बिकास अझै भई नसकेकाले सहिदका सवालमा ठोस अबधारणा,परिभाषा र सम्मानको उचित ब्यबस्थापन गर्नु राज्यको दायित्व हो। जसरी सहिदको परिभाषाको टुङ्गो छैन त्यसैगरी राष्ट्रिय विभूतिको पनि कुनै वैज्ञानिक परिभाषा आधार र  टुङ्गो छैन । अबधारणा बनाउन र परिभाषा बमोजिम सम्मान दिन ढिला गरिनु हुदैन ।
मलाई फर्केर फेरि टुँडिखेल भद्रकाली अगाडि ठिङ्ग उभिएको सहिदगेट पुग्न मन लाग्यो । तक्षणै भावनात्मक रुपले सहिदगेट पुगेको अनुभूत गरे । मनमनै सलाम ठोके सहिदलाई । आँखामा त्रिभूवन आए । सहिदसँगै त्रिभूवन भन्ने प्रश्न पनि उब्जियो । चिन्तन,सोच र दृष्टिकोण फरक हुन सक्लान् त्यतिबेला राणा बिरोधि आन्दोलनमा सहिद र अरु केही जीउँदा सहिद समेतको सहकार्य थियो त्रिभूवनसँग र त  जिउँदा सहिद बनेर अटाए होलान उनी भन्ने लाग्यो । अर्को अर्थमा यो पनि लाग्यो त्यो दरवार र त्रिभुवन नभएका भए कहाँ हुन्थ्यो होला र सहिदगेट ? इतिहास बिर्सियो भने भविष्य बन्न सक्दैन । हुनसक्छ त्रिभुवन भएकाले सहिद त्यहाँ अडिन पाए । कताको सहिद कताको विभूति पनि हुन सक्थ्यो  होला। विभूतिको पहिचान र सहिदको सम्मान नै राष्ट्रिय एकताको आधार हुन सक्ने भएकाले सहिद र विभूति प्रतिको साझा राष्ट्रिय अधारणा निर्माणमा ढिलाइ गरिनु हुन्न भन्ने लाग्दछ । हामीसँग राष्ट्रिय रुपमा सहिदको साझा सूची छैन। विभूतिहरूको वर्गीकरण छैन ।साझा रुपमा सहिद दिवस मनाउने थलो छैन । साच्चैको साझा सहिद स्मारक पनि छैन । भएको सहिदगेट उखेलेर फाल्ने सोच बनाएका थिए कुनै समयका गणतान्त्रिक शासकले । नयाँ इतिहास लेखनका लागि पुरानो इतिहास मेट्नु पर्दछ भन्ने कतै छैन । सहिद वास्तवमा मानव जातिका सर्वश्रेष्ठ व्यक्तित्वका रुपले चिनिन्छन्। उनीहरू राष्ट्र र समाज रुपान्तरणका अग्रणी महामानव हुन, इतिहास जीवन्त साक्षी  र राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रेरणाका स्रोत हुन् ।

सहिद सत्य हो।सत्यको बाटो अंगालेर कुनै आकस्मिक लाभ र वैकल्पिक आग्रहलाई लत्याएर छातीको गोलीलाई आभूषण र घाटिमा झुण्ड्याइने डोरीलाई माला संझेर हाँसीहाँसी मृत्युु वरण गर्ने व्यक्ति प्रति काल्पनिक आँखाले हेरीनु हुदैन । सहिदलाई बक्रभाव तथा बक्र आँखाले हेरियो भने सहिद प्रति सम्मान होइन,अपमान गरेको भन्ने अर्थ लाग्न सक्छ ।
मुलुकमा थुप्रै राजनीतिक तथा प्रजातान्त्रिक आन्दोलनहरू भए । सहिद लखन थापाको काल एउटा काल थियो ।”पाए अत्य नपाए लखन थापाको जन्त” भन्ने आहान नै बन्यो । किन बन्यो भन्ने तिर नजाउ । सातसालको प्रजातान्त्रिक आन्दोलनको क्रान्ति ऐतिहासिक क्रान्ति थियो । जसले जहानियाँ राणा शासनको अन्त्य गरि प्रजातान्त्रको स्थापना गरेको थियोे । तिनै सहिदको बलिदान र प्राप्त प्रजातन्त्रको जगमा उभिएर मुलुकमा अन्य थुप्रै आन्दोलनहरू भए।
सत्र साल,छत्तीस साल,छयालीस सालदेखि बैसठ्ठी त्रिसट्ठीको जनआन्दोलन, माओबादीको सशस्त्र जनबिद्रोह लगायतका विविध आन्दोलनहरू मुलुकले अझै झेलिरहेको छ ।
कहिले स्वायत्तताको नाममा,कहिले जातीय राज्यको माग मग्रात,खुम्बुवान,लिम्बुवान,तामसालिङ,नेवाराज्य,स्वायत्त मधेस प्रदेश जस्ता विभिन्न माग गर्दै अनेक रुप र बहुरुपका आन्दोलन मुलुकले व्यतीत गरिसकेको छ । ती आन्दोलनमा धेरैले ज्यान गुमाए । आन्दोलनको माग र मुद्दा प्रति अनभिज्ञ रहेकाहरूले पनि अनाहकमा ज्यान गुमाए । कति बेपत्ता पारिए ।कति अझै अज्ञात छन। तिनलाई सहिद घोषण गरिनु पर्दछ भन्ने माग प्रतिको आन्दोलनमा पनि थप ज्यान गुमाउनेहरू थपिए ।

जति पटक सरकार बन्दै गयो,उति पटक सहिद घोषणाको मुद्दा आई नै रह्यो । राजनीतिक दलै पिच्छे दलगत संलग्नताका आधारमा पटके सहिदको नामावली थपिदै सहिद घोषणा गरिने काम भयो ।  यस प्रकारको कामले सहिद प्रतिको सम्मान र परिभाषाले झन अन्योल, आशंका, र विवाद सिर्जना गर्ने काम भयो। जुन साच्चै सहिद प्रतिको सम्मानको अवमूल्यन हो।  सहिद कुनै राजनीतिक दल र समुदायका मात्र हुँदैनन् । सहिद राज्यको हुन्छ ।

संसारमा भएका विभिन्न देशको आन्दोलनको इतिहास पल्टाउने हो भने  सहिदको बलिदान विना युगान्तकारी  परिवर्तन भएको बिरलै भेटिन्छ । फ्रान्सेली क्रान्ति होस् या रुसी क्रान्ति वा चिनियाँ क्रान्ति, विश्वमा जति पनि महान क्रान्ति भएका छन्, त्यहाँ लाखौँ सहिद भएका छन।अरूका निम्ति जीवन उत्सर्ग गर्ने कार्य नै सही अर्थमा मानवता हो । जसले आफ्नो लागि मात्र होइन देश र जनताका निम्ति सोच्ने र  आफ्नो ज्यान उत्सर्ग गर्ने हिम्मत र सामर्थ राख्दछ भने त्यो नै सच्चा सहिद कहलाउछ। बिश्व इतिहासलाई नियाल्ने हो भने सहिदको परिभाषा र सम्मानमा हाम्रो जस्तो अन्यौल पक्कै छैन। परिभाषाले स्पष्ट हुन नसक्नु भनेको आम सहिद प्रतिको अपमान हो ।
हामीले सहिद प्रति गर्न बाकी धेरै छ। सहिदको सम्मान र स्मृतिका खातिर  सहिद द्वारको निर्माण,सहिद पार्क, सहिदको प्रतिमा स्थापना,सहिदको नमबाट सडकको नामकरण, सहिद स्मृति भवन,सहिद सभा कक्ष आदिको ब्यबस्थापन गर्न ढिला भई सकेको छ । सहिद र सहिदसँग सम्बन्धित विषयवस्तुलाई पाठ्यक्रममा समावेश गराउनु जरुरी छ ।  सहिदका नाममा पुरस्कार आदिको व्यवस्था छैन । छात्रवृत्ति कोष छैन।  छ त त्यहि सहिदगेट! कुनैबेला सुन्दर फुलबारी सहितको सहिदगेट त्यो पनि अहिले सिरु उम्रेर  संरक्षणको पर्खाइमा छ । सहिदका गाथा,इतिहास र सहिदका जीवनी बालबालिकालाई स्रोत पुस्तकको रुपमा तयार गरि पठनपाठन गराउन ढिला भइ सकेको छ । हामीसँग न सहिदको वास्तविक तथ्यांक छ न विवरण छ, न सहिद प्रतिको सच्चा सम्मान नै छ । हामी सहिद सप्ताहको अवसर पारेर केही गरि टोपल्छौ। राजनीतिक कार्यक्रममा केवल मौन धारण गरेर अौपचारिक सम्मान जाहेर गर्दै नारामा सहिदको सपना साकार पार्ने प्रतिबद्धता जाहेर गर्छौ । अहिले सम्म चलेको रित यही नै छ। यही हो त सहिद प्रतिको सम्मान ?इतिहासको मूल्यांकन गर्न नजान्नु भनेको सहिदको अपमान गर्नु पनि हो । सहिदलाई अपमान होइन सम्मान गर्ने ठोस परिपाटी हुनु पर्दछ र निर्विवाद रुपमा सहिदको सम्मान गरिनु पर्दछ।
हाम्रो मुलुकका सहिदहरुको  सन्दर्भमा अनेकानेक धारणा र टिप्पणी उठने गरेको छ । सहिद आलोचनाबाट माथि हुनु पर्दछ । सहिद आस्था,बिश्वास र आदर्शताको प्रतीक हो । दल,संगठन,मोर्चाका आधारमा सहिदको वर्गीकरण गरिनु हुदैन।
मुलुकमा भएका राजनीतिक  आन्दोलनका क्रममा थुप्रै मरे मारिए । अझै  कति बेपत्ता भएका छन । बेपत्ताहरुको अवस्था अज्ञात नै छ ।यसरी मारिएका र बेपत्ता भएका वा पारिएकाहरू के साच्चै आस्था,बिश्वास र निष्ठाका सहिद हुन सक्छन् ? अज्ञात सहिदको रूपमा उनीहरूलाई सम्मान गर्ने र दिने कुरा उठनु स्वभाविक हो । तर कठिन घडीमा आत्मनिर्णयको जगमा उभिएर सहिद भएका र जबर्जस्ती आन्दोलनमा होमेर मरेका वा मारिएकालाई सहिदको सम्मान भन्दा पनि त्यस्ताको छुट्टै लगत राखेर वैकल्पिक सम्मान र सहयोग पो  गर्नु  पर्ने हो कि?
सहिद भावना र कल्पना भन्दा माथिको सत्य हो । कतिपय सवालमा राज्य आतंक,राज्य पक्षको दमन,राज्य बिरोधि गतिविधिमा ज्यान गुमाएकालाई सहिद भनियो भने वास्तविक सहिदको अवमूल्यन हुन्छ । सहिदलाई उपहास र अवहेलनाको पात्र बनाइनु हुदैन । सहिद सदैव अमर रहने प्रतीक हो । सहिदका निमित्त अर्पण गरिने सम्मानका प्रकृतिहरू हामी फरक ढंगले निर्माण गर्न सक्छौं । कठिन परिस्थितिमा कुनै लाभ,लोभ,संझौता र विकल्पलाई तिलाञ्जली दिएर स्वेच्छाले गोली खान र फाँसीमा झुन्डिन तयार सहिदको तुलना अन्य सहिदसँग गर्ने कि नगर्ने ? कतिपय अबस्थामा सहिद भएका परिवारको विचल्ली छ तिनका लागि भरण पोषण जस्ता काम गर्ने कि नगर्ने ? यस्ता सवालमा राज्यको धारणा स्पष्ट हुनु पर्दछ ।
सौहार्द मृत्यु वरण गरि मरेर पनि युगौयुग अमर भएर बाँच्ने असामान्य विशिष्ट मानिस नै सहिद हो। मानिस मनिसबाट मानवको तहमा पुगे पछि मात्र सहिद हुन सक्छ। सहिद कुनै बादको सिद्धान्त र राजनीतिक दलका घोषणापत्रमा अटाउने बुँदागत अवधारणा मात्र  होइन । सहिद सहिद हो । सहिदको मार्ग सजिलो पनि छैन। कठिन तर आदर्शको मार्ग समातेर जो राष्ट्रप्रेम,स्वाभिमान,स्वतन्त्रताको पक्षमा उभिएर सहर्ष प्राणलाई उत्सर्ग गर्ने मानव नै सहिद कहलाउदछ ।

सहिदको बलिदानी यदि थिएन भने आज हामी नेपाल र नेपाली नहुन सक्थ्यौ । देश दिने,स्वतन्त्रता दिने,स्वाभिमान दिने र नागरिकलाई सार्वभौमसत्ता सम्पन्न गराउने सहिद प्रति अपार सम्मान साथ सलाम ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको