युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले एशिया कप खेल्न जान लागेको यू१९ टोलीलाई हतासा नखेल्न सुझाव दिएका छन्। आफूले खेल हेर्दा खेलाडीको ध्यान चौका र छक्कामा मात्रै रहेको जस्तो देखिएको बताउँदै उनले सम्हालिएर खेल्न सुझाएका हुन्। आइतबार यूएई जान लागेको नेपाली यू१९ राष्ट्रिय टोलीलाई बिदाइ गर्दै उनले खेलाडीले चौका र छक्कामा मात्रै ध्यान दिने गर्दा कहिलेकहीँ चुकेको जस्तो आफूले अनुभव गरेको सुनाए।

“छक्का र चौका हान्ने सुरमा चाहिँ सबै कुरा नगुमाउनु। म क्रिकेट खेलाडी होइन। तर, मैले हेर्दा छक्का र चौका हान्ने सुरले नेपाली टोली चुकेको जस्तो लाग्छ,” उनले भने।
उनले आफूले पहिला क्रिकेट सिकेको पनि सुनाए। तर, बलले लागेर औँला फुटेपछि क्रिकेट छाडेको उनको भनाइ थियो। आफूले खेलेको समय अर्कै रहेको र अहिले बदलिएको उनले बताए।

“हामीले खेल्दा आफ्नै खल्तीबाट पैसा निकाल्न पर्थ्यो। तपाईँहरूभन्दा १० वर्ष पछाडि खेल्ने खेलाडीले अझ फ्यासलिटी धेरै पाउन सक्छन्। त्योबेला सरकारको अर्थव्यवस्था अझ सुद्धधित होला। त्यसैले क्यानले अरू जिल्लाहरूमा गएर खेलाडी उत्पादन गरोस्,” उनले भने। क्रिकेटबाट नै नेपाल विश्वमा चिनिएकोसमेत उनले बताए। भारतमा भारतीय क्रिकेट टोलीभन्दा नेपाली टोलीको बढी चर्चा हुने गरेको दाबी गर्दै उनले यसलाई गम्भीरताको साथ सबैले लिनुपर्ने बताए।

अहिले नेपालले भारत र पाकिस्तानलाई नेपाल हराउन सक्षम रहेको पनि उनले बताए। “सधैँ भारत र पाकिस्तानसँग हामी परिरहेका छौँ। अब यो टोलीले भारत र पाकिस्तानलाई पार लगाएपछि अर्को टोली हामीसँग खेल्छ भन्ने लागेको छ। तपाईँहरू सक्षम हुनुहुन्छ, पार लगाएर आउनुस् हामी स्वागत गर्छौँ,” उनले भने।

नेपाल क्रिकेट संघ (क्यान)ले यूएईमा हुने यू १९ एशिया कपको लागि राष्ट्रिय टोली घोषणा गरिसकेको छ। क्यानले गत मंगलबार देव खनालको कप्तानीमा १४ सदस्सीय टोली घोषणा गरेको हो। टोलीमा गुलशनकुमार झाले पुनरागमन गरेका छन्। उनी यसअघि सिनियर टोलीमा थिए। देव र गुलशनबाहेक टोलीमा अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपकप्रसाद डुम्रे, हेमन्त धामी, दिपेशप्रसाद कँडेल, विशालविक्रम केसी, सुवास भण्डारी, दिपक बोहोरा, उत्तम रन्गु थापा मगर, विपिन रावल, तिलकराज भण्डारी र आकाश चन्द रहेका छन्।

८ देखि १७ डिसेम्बरसम्म हुने प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ। नेपाल रहेको समूहमा पाकिस्तान, अफगानिस्तान र भारत रहेका छन्। नेपालले समूह चरणको पहिलो खेल पाकिस्तानमा ८ मा खेल्ने छ। दोस्रो खेल १० डिसेम्बरमा अफगानिस्तानसँग र समूह चरणको अन्तिम खेल नेपालले भारतसँग १२ डिसेम्बरम खेल्नेछ।

नेपालसँगै जापान र यूएई छनोट चरण पार गरेर प्रतियोगितामा स्थान बनाएका हुन्। अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका भने आईसीसीको फुल मेम्बर भएको कारण छनोट चरण पार गर्नुपरेन।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको