काठमाडौं, २४ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अन्तर्राष्ट्रिय समन्वय परिषद्को सचिवमा पारसमणि पोख्रेलले उम्मेदवारी दिने भएका छन् । हाल जापानमा बस्दै आएका पोख्रेलले गैरआवासीय नेपालीहरुबिच काम गर्ने अभियन्ताका रुपमा परिचित छन् ।
एनआरएनए जापाका पूर्व अध्यक्ष रहिसकेका पोख्रेल हाल एनआरएनको एशिया प्रशान्त क्षेत्रका क्षेत्रीय संयोजक छन् । ‘अग्रजहरुको सल्लाह र सुझाबलाइ मध्यनजर गर्दै यो पटक सचिब पदमा आउने निर्णय गरेको छु । बिगतमा पाएको साथ र समर्थनको अपेक्षा फेरी पनि गरेको छु ,’ उनले भने । पोखरेल विगत १९ वर्षदेखि निरन्तर गैरआवासीय नेपाली संघको अभियानमा सक्रिय छन् । पोखरेलको रोटरी इन्टरनेश्नलमा २८ वर्षको प्रत्यक्ष–सक्रिय संलग्नता छ । उम्मेद्वारी घोषणासँगै उनले आफ्ना एजेण्डा पनि साझा गरेका छन् । जसमध्ये स्मार्ट एनआरएनए, नागरिकताको निरन्तरता, दोस्रो पुस्तालाई नेपालसँग जोड्ने, १० अर्वको कम्पनीलाई सबै एनआरएनएसम्म पुर्याउने, विदेशी लगानी नेपाल भित्र्याउने, विदेशबाट नेपालीले मताधिकार प्रयोग गर्न पाउनको लागि पहल गर्ने, नेपाली उत्पादनलाई विश्व–बजारसम्म पुर्याउन पहल गर्नेलगायत मुख्य एजेण्डा रहेका छन् ।
पोखरेल एनआरएनए जापानका अध्यक्ष भइसकेका छन् । हाल उनी एनआरएनए एसिया प्यासिफिकका संयोजक हुन् । पोखरेललाई स्थापनाकालदेखि अहिलेसम्मका सबै नेतृत्वले रुचाएका छन् । दोश्रो पुस्ताका लागि स्पीच कन्टेस्ट गराएका पोखरेलको एनआरएनएमा एउटा छुट्टै पहिचान बनेको छ । गत वर्ष थाइल्याण्डको बैंककमा सम्पन्न ऐतिहासिक मिलाप सम्मेलनले पोखरेलको उचाइ झन थप गरेको थियो । अहिले पनि उनकै अगुवाईमा एनआरएन द सिंगर प्रतिस्पर्धाले धेरैको ध्यान खिचेको छ ।
कात्तिक ३० गतेबाट एनआरएनएको ११औं सम्मेलन काठमाडौंमा हुँदैछ ।



