नुवाकोट । तारकेश्वरको गौरवका रूपमा निर्माण गरिएको जोरघट्ट-तारुका खानेपानी आयोजनाको उद्घाटन भएको छ । जोरघट्ट मुहानको पानी तारुका आइपुगेसँगै आइतबार गाउँपालिका अध्यक्ष शिव अधिकारीले खानेपानीको उद्घाटन गरेका हुन् । दुई वडाका ६५० परिवारलाई समेट्ने यो आयोजनाले दशकौंदेखि तारुकावासीले भोग्दै आएको खानेपानीको समस्या अन्त्य गरेको छ ।
राष्ट्रिय स्तरमा ख्याति पाएको माघेसंक्रान्ति गोरुजुधाइ मेला लाग्ने ऐतिहासिक महत्वको गाउँ तारुकाका बासिन्दाको दशकौंदेखि अल्झिएको एउटै सपना थियो – घरघरमा धारा, आफ्नै धारामा पानी । जोरघट्टको पानी तारुका झरेसँगै अब यो सपना विपना बनेको छ ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अधिकारीले अब तारकेश्वरका कुनै पनि गाउँले काकाकुल बस्ती बनेर बस्न नपर्ने उद्घोष गरे । पानीजस्तो न्यूनतम आवश्यकताको विषयमा आग्रह पूर्वाग्रह र स्वार्थ हावी हुन नहुने भन्दै उनले सके सहमतिमा, नभए बलपूर्वक भए पनि खानेपानीका सबै आयोजनाहरू सम्पन्न गर्ने संकल्प गरे । राजनीतिक खिचातानी र स्थानीय सरकारको लाचारीका कारण यसअघि तारुकामा खानेपानी ल्याउन भएका दर्जनौं प्रयासहरू विफल भएका थिए ।
आयोजनाको काम लक्ष्यअनुरूप भएकोमा खुसी व्यक्त गर्दै अध्यक्ष अधिकारीले पहिलो चरणको काम सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णमा आभार प्रकट गरे । उपभोक्ता समितिले दिएको जानकारी अनुसार, घरघरमा पक्की धारा बनाउने काम दोस्रो चरणमा हुने छ । तारुकावासीले जोरघट्टको पानी भने आजैदेखि पिउने छन् ।
जोरघट्ट खानेपानी आयोजनाबाट तारकेश्वर २ र ३ का ६५० घरधुरी लाभान्वित हुँदै छन् । आयोजनाका लागि गत वर्ष प्रदेश सरकारले २५ लाख र गाउँपालिकाले ५२ लाख रुपैयाँ विनियोजन गरेको थियो । बहुवर्षीय योजनाका रूपमा आयोजनाका बाँकी चरणका काम सम्पन्न हुँदै जाने उपभोक्ता समितिका अध्यक्ष समर बहादुर आलेले बताए ।



