काठमाडौं, साउन १५ — नेपाली कांग्रेसका पूर्व महामन्त्री डा.शशांक कोइरालाले सुनसरीको देवानगञ्जबाट सुरु भई तराई–मधेशका विभिन्न जिल्लामा फैलिएको तनावपूर्ण अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गर्दै धार्मिक सद्भाव, सामाजिक एकता र राष्ट्रिय सहिष्णुता कायम राख्न सबै पक्षलाई अपिल गरेका छन्।
शुक्रबार जारी सार्वजनिक अपिलमा उनले धार्मिक तथा साम्प्रदायिक रूपमा संवेदनशील बनेको वर्तमान परिस्थितिमा सम्पूर्ण नेपाली नागरिकलाई संयमता अपनाउन, धार्मिक सहिष्णुता, आपसी सद्भाव र भाइचारा कायम राख्न आग्रह गरेका छन्। उनले घटनामा ज्यान गुमाएका नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
डा। कोइरालाले नेपाल विविध जाति, भाषा, धर्म, संस्कृति र परम्पराले सम्पन्न मुलुक भएकाले यही विविधताबीचको एकता, सहिष्णुता र पारस्परिक सम्मान नै नेपालको राष्ट्रिय पहिचान र गौरवको आधार भएको उल्लेख गरेका छन्। पुर्खाले स्थापित गरेको मेलमिलाप र सहअस्तित्वको संस्कृतिलाई जोगाउनु आजको सबैभन्दा ठूलो जिम्मेवारी भएको उनको भनाइ छ।
उनले राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा, बुद्धिजीवी तथा आम नागरिकलाई शान्ति, संयम र भाइचाराको सन्देश प्रवाह गर्न आग्रह गर्दै कुनै पनि उक्साहट वा विभाजनकारी गतिविधिबाट टाढा रहन सबैलाई सचेत गराएका छन्।
सरकार, सुरक्षा निकाय, स्थानीय प्रशासन तथा सम्बन्धित सबै राज्य संयन्त्रलाई निष्पक्ष, जिम्मेवार र प्रभावकारी ढंगले भूमिका निर्वाह गर्न आग्रह गर्दै उनले शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम गर्न विशेष सक्रियता आवश्यक रहेको बताएका छन्।
अपिलमा उनले स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज र धार्मिक नेतृत्वले समाजमा विश्वास, सहिष्णुता र सद्भावको वातावरण निर्माणमा अग्रसर हुनुपर्नेमा जोड दिएका छन्। विशेषगरी नेपाली कांग्रेसका सम्पूर्ण नेता–कार्यकर्ता तथा जनप्रतिनिधिलाई लोकतान्त्रिक मूल्य, सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिँदै समाजमा शान्ति र भाइचाराको सन्देश फैलाउन सक्रिय हुन आग्रह गरेका छन्।
कोइरालाले नेपाली–नेपालीबीच वैमनस्यता होइन, प्रेम, सम्मान र भाइचाराको सम्बन्ध विस्तार गर्दै धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सबैलाई आह्वान गरेका छन्।




