ओखलढुंगा : नेपाली कांग्रेसका केन्द्रीय सदस्य आङगेलु शेर्पाले नेपाली कांग्रेसभित्रको एकता अपरिहार्य रहेको बताएका छन्। कांग्रेस एक हुन नसके मुलुकको लोकतान्त्रिक व्यवस्था नै संकटमा पर्न सक्ने भन्दै उनले सबै नेता–कार्यकर्तालाई विगतका तिक्तता र असमझदारी बिर्सेर पार्टी एकताको पक्षमा उभिन आग्रह गरे।
नेपाली कांग्रेस ओखलढुंगा जिल्ला कार्यसमितिले आयोजना गरेको ४४औँ बीपी स्मृति दिवस, ‘जरा अभियान’ समापन तथा अन्तरक्रिया कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै शेर्पाले पार्टी एकताको अभियानमा कसैले पनि अवरोध सिर्जना नगर्न आग्रह गरे। उनले कांग्रेस बलियो भए मात्र लोकतन्त्र थप सुदृढ हुने धारणा व्यक्त गरे।
कार्यक्रममा संविधानसभा सदस्य तथा कांग्रेस नेता रामहरि खतिवडा, ट्रेड युनियन कांग्रेसका पूर्व केन्द्रीय अध्यक्ष तथा कांग्रेस नेता खुला दाहाल, नेकपा (एमाले) ओखलढुंगाका जिल्ला संयोजक हर्कबोल राई, नेकपा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का स्थानीय नेताहरूको पनि सहभागिता रहेको थियो।
समारोहमा नेपाली कांग्रेस ओखलढुंगाका नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम नेपाली कांग्रेस ओखलढुंगा जिल्ला सभापति तेजेन्द्र खनालको सभापतित्वमा सम्पन्न भएको थियो।




