काठमाडौँ। फिल्म ‘गौँथली’को प्रिमियर सोमबार साँझ काठमाडौंमा सम्पन्न भएको छ। राजधानीस्थित एक हलमा आयोजित पहिलो सार्वजनिक प्रदर्शनमा कलाकार, फिल्मकर्मी तथा आमन्त्रित दर्शक सहभागी थिए।
निर्माता सुमन गिरीका अनुसार प्रिमियरमा सहभागी दर्शकले फिल्मको कथावस्तु र कलाकारको अभिनयको प्रशंसा गरेका छन्। उनका अनुसार फिल्मले २०६० सालअघिको नेपाली ग्रामीण समाजमा महिलाले भोग्नुपरेका सामाजिक यथार्थलाई प्रस्तुत गरेको छ।
फिल्ममा अरुण क्षेत्रीले अटिजम भएका पात्रको भूमिका निर्वाह गरेका छन् भने सिम्रन खड्का पनि मुख्य भूमिकामा छिन्। प्रिमियरमा यी दुई कलाकारको अभिनयबारे पनि सकारात्मक प्रतिक्रिया आएको निर्माण पक्षले जनाएको छ।
प्रिमियरमा कलाकार कृष्ण मल्ल, रवि डंगोल, जितु नेपाललगायत सहभागी थिए। उनीहरूले फिल्मले तत्कालीन नेपाली समाजको यथार्थलाई मार्मिक ढंगले चित्रण गरेको प्रतिक्रिया दिएका छन्।
डा. कपिल रिजाल निर्देशित फिल्ममा सुमन गिरी र कपिल रिजालको लगानी छ। ‘गौँथली’ साउन १ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।




