काठमाडौं। नेपाली कांग्रेसले पार्टी सभापति गगनकुमार थापाको निजी निवास, एक लोकप्रिय मिडिया हाउसको प्रवेशद्वार तथा व्यवसायीहरूको नियमित आवागमन हुने कार्यक्षेत्रमा अपरिचित व्यक्तिहरूले सवारी साधन तेर्स्याएर आवागमन अवरुद्ध गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीले उक्त घटनालाई स्वतन्त्र अभिव्यक्ति तथा लोकतान्त्रिक गतिविधिलाई त्रसित बनाउने कुत्सित मनसायबाट प्रेरित नियोजित गतिविधिका रूपमा व्याख्या गर्दै यसले लोकतान्त्रिक मूल्य, विधिको शासन र नागरिक स्वतन्त्रतामाथि गम्भीर प्रहार गरेको ठहर गरेको छ।
नेपाली कांग्रेसले सोमबार जारी गरेको विज्ञप्तिमा आतंक सिर्जना गर्ने यस्तो शैलीको घोर निन्दा तथा भर्त्सना गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कडा कारबाही गर्न सरकारसँग माग गरेको छ। कांग्रेसले लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिक अधिकारको संरक्षणका लागि सम्पूर्ण लोकतन्त्रवादी शक्ति, सञ्चारजगत्, नागरिक समाज तथा आम नागरिकलाई यस्ता अलोकतान्त्रिक गतिविधिविरुद्ध एकजुट भएर सशक्त प्रतिवाद गर्न आह्वान गरेको छ।
पार्टीले लोकतान्त्रिक व्यवस्था, नागरिक स्वतन्त्रता र कानुनी शासनमाथि कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने उल्लेख गर्दै यस्ता घटनाले लोकतान्त्रिक संस्कृतिलाई कमजोर बनाउने भएकाले राज्य संयन्त्रले तत्काल प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएको छ।




