काठमाडौँ :नेपाली कांग्रेसकी सांसद गीता गुरुङले बागमती र धोबीखोला किनारका सुकुम्वासीहरूलाई बिना वैकल्पिक व्यवस्था विस्थापित गरिएको र मुगुका गणेश नेपालीले आत्मदाहको प्रयास गरेको घटनालाई लिएर सरकारको कडा आलोचना गरेकी छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद गुरुङले वर्तमान सरकार ‘निर्मम र अमानवीय’ भएको आरोप लगाउँदै राज्य चरम असफलताको दिशामा अघि बढेको दाबी गरिन् ।
संसद्मा बोल्दै सांसद गुरुङले बागमती किनारबाट उठाइएका सुकुम्वासीहरूलाई होल्डिङ सेन्टरमा लगेर पानी र खाना समेत बन्द गरिएको भन्दै आक्रोश व्यक्त गरिन् ।
`लाग्छ, सरकार उबेलाको जर्मनीको तानाशाही शासक सम्झाउने कुनै च्याम्बर त निर्माण गर्दै छैन? जवर्जस्ती काठमाडौँ ल्याएर छाडिदिएपछि अब कहाँ जाने, के गर्ने भन्दै सुकुम्वासी दाजुभाइ दिदीबहिनीहरूको आर्तनादले सिङ्गो नेपाली समाजलाई झस्काएको छ,´ उनले भनिन् ।
सरकारी राहत र व्यवस्थापनमा चरम लापरबाही
सरकारले प्रतिपरिवार २५ हजार रुपैयाँ र मासिक १५ हजार दिने वाचा गरे पनि ३ सय ८८ परिवारमध्ये अझै धेरैको खातामा पैसा नपुगेको उहाँले संसद्लाई जानकारी गराइन् । पैसा पाएकाहरूले पनि यो महँगीको समयमा तुरुन्तै बस्ने कोठा भेटाउन नसकेको भन्दै बिना कुनै पूर्वतयारी र वैकल्पिक व्यवस्था, झरीको मौसममा नागरिकलाई सडकमा ल्याउनु ‘अमानवीयताको पराकाष्ठा’ भएको उनकाे भनाइ थियो। गाँस र बासको संवैधानिक हकको ग्यारेन्टी गर्दै विस्थापित परिवारको स्थायी पुनर्स्थापना नभएसम्म मानवीय संकट आउन नदिन सरकारसँग जोडदार माग गरिन् ।
त्यस्तै,मुगुका युवा गणेश नेपालीले हालै गरेको आत्मदाह प्रयासको घटनालाई जोड्दै सांसद गुरुङले श्रम गरेर बाँचिरहेका नेपालीहरूको अवस्था दयनीय बन्दै गएको बताइन् । उनले विगतमा प्रेम आचार्यले संसद् भवन अगाडि आत्मदाह गर्दा वर्तमान प्रधानमन्त्रीले नै सामाजिक सञ्जालमा लेखेको अभिव्यक्ति स्मरण गराइन् ।
`प्रधानमन्त्रीज्यू, गणेश नेपालीको घटनामा तपाईकै शब्द सापटी लिएर भन्छु— यो घटनाको मुख्य कारण राज्य हो। र, सबैभन्दा भयानक संकेत राज्यको चरम असफलताको हो। असफल भएर के यस्तै शासन चलाइरहने हो? गरिब र श्रम गरेर खानेहरूलाई कहिलेसम्म बागमती र धोबीखोलामा हेलिएर आत्महत्याका लागि बाध्य बनाइरहने?´ उनले भनिन् । शासक फेरियो तर नागरिकको जीवनशैली नफेरिएकाे उनले बताइन् ।




