काठमाडौँ । साउन १ गते प्रदर्शनमा आउने फिल्म ‘गौँथली’को ट्रेलर युट्युबको चलचित्रतर्फको ट्रेन्डिङ सूचीमा दोस्रो स्थानमा पुगेको छ। चार दिनअघि सार्वजनिक ट्रेलरले युट्युबमा उल्लेख्य प्रतिक्रिया बटुलेको छ।

ट्रेलरमा अटिजम भएका युवक र उनको वैवाहिक जीवन वरिपरि घुम्ने कथावस्तु प्रस्तुत गरिएको छ। ट्रेलर हेरेका दर्शकमध्ये धेरैले कलाकारको अभिनय र कथाको भावनात्मक पक्षको प्रशंसा गरेका छन्। केहीले फिल्म सफल हुने अपेक्षा व्यक्त गरेका छन् भने कतिपयले ट्रेलरले नै आफूलाई भावुक बनाएको प्रतिक्रिया दिएका छन्।

फिल्ममा अटिजम भएका युवकको भूमिकामा अरुण क्षेत्री छन् भने उनकी श्रीमतीको भूमिकामा सिम्रन खड्का देखिएकी छन्। उनीहरूसँगै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय छ। बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन्।

डा. कपिल रिजाल निर्देशित फिल्म डा. भोला रिजालको कथामा आधारित छ। पटकथा तथा संवादमा कपिलसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेको सहकार्य छ।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्मका निर्माता सुमन गिरी र डा. कपिल रिजाल हुन्। कार्यकारी निर्माता सरला रिजाल रहेकी छन्।

फिल्ममा शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत, हरि हुमागाईंको छायांकन तथा मिलन श्रेष्ठको सम्पादन रहेको छ। रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ.डी. कम्पनीले वितरण गर्ने फिल्म साउन १ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।

यसअघि डा. भोला रिजालले निर्माण गरेको ‘गौँथली’लाई नेपालको पहिलो ‘गीति फिल्म’का रूपमा चिनिन्छ। नयाँ संस्करण भने उनका छोरा डा. कपिल रिजालले निर्देशन गरेका हुन्।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको