काठमाडौं । अमेरिकामा बसोबास गर्ने नेपाली समुदायको जीवनशैली, पारिवारिक सम्बन्ध, पुस्ताबीचको सोच र प्रवासी जीवनका अनुभवलाई केन्द्रमा राखेर निर्माण गरिएको वेब सिरिज ‘घर But in America’ युट्युबमा सार्वजनिक भएको छ।

अभिनेता तथा निर्देशक बिमलेश अधिकारीको निर्देशनमा बनेको सिरिज 7 Colors Digital युट्युब च्यानलमार्फत प्रसारण भइरहेको हो। सिरिजका सबै १२ एपिसोड सार्वजनिक भइसकेका छन्।

सिरिजमा अरुणिमा लम्साल, बिमलेश अधिकारी, राधा (भाभु) लम्साल, स्व. खेम शर्मा, समारोह मैनाली, रोजिना थापा र आशिष दाहालको अभिनय रहेको छ। कथा विवेक चम्लागाईंले लेखेका हुन् भने कार्यकारी निर्माता रोशन घिमिरे हुन्।

‘घर But in America’ ले अमेरिका पुगेका नेपाली परिवारले भोग्ने सांस्कृतिक अन्तर, पारिवारिक जिम्मेवारी, पुस्ताबीचको वैचारिक दूरी, सम्बन्धमा आउने उतारचढाव तथा प्रवासी जीवनका संघर्षलाई हास्य र भावनात्मक शैलीमा प्रस्तुत गरेको छ। मनोरञ्जनसँगै प्रवासी नेपालीको यथार्थलाई चित्रण गर्ने प्रयास सिरिजमा गरिएको छ।

अमेरिकामा छायांकन गरिएको सिरिज सार्वजनिक भएपछि दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको निर्माण टिमले जनाएको छ। विशेषतः प्रवासमा रहेका नेपालीको दैनिकी र पारिवारिक परिवेशलाई स्वाभाविक रूपमा प्रस्तुत गरिएकाले सिरिजले दर्शकमाझ राम्रो चर्चा बटुल्न सफल भएको छ।

युट्युबमार्फत विश्वभरका दर्शकले हेर्न सक्ने गरी सार्वजनिक गरिएको ‘घर But in America’ लाई नेपाली प्रवासी जीवनमा आधारित समकालीन वेब सिरिजका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको