काठमाडौँ । वर्तमान सरकार गठन भएको १०० दिन (मधुमास) पूरा भएसँगै यसको कार्यशैलीलाई लिएर राजनीतिक विश्लेषकहरूले समीक्षा गर्न थालेका छन् । यसै क्रममा राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेले सरकारको १०० दिने कार्यकालको वस्तुनिष्ठ मूल्याङ्कन गर्दै प्रारम्भमा देखिएको जनउत्साह निराशामा परिणत भएको टिप्पणी गर्नुभएको छ ।
लोकतान्त्रिक मूल्य–मान्यता र परम्पराअनुसार सरकारलाई सय दिनसम्म ‘शङ्काको सुविधा’ दिइने हुनाले आफूले हालसम्म कडा आलोचना नगरेको स्पष्ट पार्दै वाग्लेले अब सरकारका कामकारबाहीमाथि विषयगत रूपमा आलोचनात्मक दृष्टिकोण राखिने बताउनुभएको छ ।
सरकारको १०० दिनलाई विश्लेषण गर्दै उहाँले मुख्य पाँच बुँदाहरू सार्वजनिक गर्नुभएको छ:
१. उत्साह आशंका र निराशामा रूपान्तरण
‘बिहानीले दिउँसोको सङ्केत गर्छ’ (Morning shows the day) भन्ने उखान उल्लेख गर्दै वाग्लेले करिब दुईतिहाइको लोकप्रिय जनमतसहित बनेको सरकारप्रति सुरुमा जनतामा ठूलो आशा र उत्साह रहेको स्मरण गर्नुभएको छ । तर, १०० दिनको अवधि पूरा हुँदा त्यो आशा आशंका र निराशामा बदलिएको उहाँको ठहर छ ।
२. सुशासनका नाममा सर्वसत्तावादी प्रवृत्ति
सरकारले सुशासन, भ्रष्टाचार नियन्त्रण र सेवा प्रवाह (डेलिभरी) लाई प्राथमिकतामा राख्नु सकारात्मक भए पनि त्यसको आवरणमा विधिको शासन, कानुन र लोकतान्त्रिक संस्थाहरूलाई अवमूल्यन गर्ने कार्य भइरहेको वाग्लेले आरोप लगाउनुभएको छ । प्रधानमन्त्री, मन्त्री, सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जिम्मेवार नेताहरूको अभिव्यक्तिले नै यो सर्वसत्तावादी र अधिनायकवादी प्रवृत्तिलाई पुष्टि गर्ने उहाँको तर्क छ ।
३. जवाफदेहीताको अभाव
लोकतान्त्रिक प्रणालीको आत्मा नै जवाफदेहीता भएको उल्लेख गर्दै वाग्लेले वर्तमान सरकारमा त्यसको सर्वथा अभाव देखिएको टिप्पणी गर्नुभएको छ । प्रणालीको आत्मा नै गायब भएपछि त्यसको भविष्यमाथि नै उहाँले प्रश्न उठाउनुभएको छ ।
४. सुकुम्बासीको आँसुमा सरकारको वास्तविक अनुहार
सरकारले नागरिकका समस्या सम्बोधन गर्न नसकेको सङ्केत गर्दै वाग्लेले सरकारको वास्तविक र क्रूर अनुहार सुकुम्बासीहरूको आँसुमा छताछुल्ल देखिएको बताउनुभएको छ ।
५. दलीयकरणको नयाँ रूप: ‘रास्वपाकरण’
राजनीतिक भर्ती केन्द्र र दलीयकरण अन्त्य गर्ने नारा दिएर सत्तामा पुगेको शक्तिले नै अहिले संवैधानिक निकाय, प्राज्ञिक तथा शैक्षिक संस्थाहरूमा अर्कै आवरणमा ‘रास्वपाकरण’ को दुश्चक्र सुरु गरेको विश्लेषक वाग्लेको गम्भीर आरोप छ ।




