राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन चितवनको भरतपुरमा सुरु हुँदै गर्दा पार्टीभित्र नेतृत्व चयन, अवसरको वितरण र संगठनात्मक संरचनाबारे बहस पनि तीव्र बनेको छ। यही सन्दर्भमा रास्वपाका केन्द्रीय सहकारी विभाग सदस्य तथा महाधिवेशन प्रतिनिधि वीरेन्द्रकुमार साहसँग गरिएको कुराकानीको सम्पादित अंशः
महाधिवेशनबाट तपाईंले मुख्य रूपमा के अपेक्षा गर्नुभएको छ ?
यो महाधिवेशन रास्वपाको भविष्य निर्धारण गर्ने ऐतिहासिक अवसर हो। हामीले आफूलाई परम्परागत दलको विकल्प भनेर स्थापित गर्ने प्रयास गरिरहेका छौं भने त्यसको प्रमाण व्यवहारमा देखिनुपर्छ। महाधिवेशनले पार्टीलाई अझ लोकतान्त्रिक, समावेशी र जनउत्तरदायी बनाउने निर्णय गर्नुपर्छ भन्ने मेरो अपेक्षा छ।
तपाईंले ‘एक व्यक्ति, एक पद’ को कुरा उठाउनुभएको छ। किन आवश्यक छ ?
यदि हामी साँच्चै फरक राजनीतिक संस्कार स्थापित गर्न चाहन्छौं भने एउटै व्यक्तिले धेरै पद ओगट्ने प्रवृत्ति अन्त्य हुनुपर्छ। एउटा व्यक्तिले मन्त्री पनि हुने, सांसद पनि हुने र पार्टीभित्र महत्वपूर्ण पद पनि सम्हाल्ने अवस्था रहिरह्यो भने अवसर केही व्यक्तिमा मात्र केन्द्रित हुन्छ। यसले नयाँ नेतृत्वको विकास रोकिन्छ। त्यसैले ‘एक व्यक्ति, एक पद’ लाई संस्थागत गर्नुपर्छ।
के तपाईंलाई अहिले पनि अवसर सीमित व्यक्तिहरूमै केन्द्रित भएको जस्तो लाग्छ ?
कुनै पनि राजनीतिक दलमा यस्तो जोखिम हुन्छ। रास्वपाले पनि त्यसबाट पाठ सिक्नुपर्छ। पार्टीमा लामो समयदेखि योगदान दिएका, संगठन निर्माणमा खटिएका तर पदमा नपुगेका धेरै साथीहरू छन्। उनीहरूलाई नेतृत्वमा ल्याउने वातावरण बनाउन सकियो भने पार्टी अझ बलियो बन्छ।
नेतृत्व चयन गर्दा मुख्य आधार के हुनुपर्छ ?
लोकप्रियता मात्रै पर्याप्त हुँदैन। राम्रो भाषण गर्ने वा सामाजिक सञ्जालमा चर्चित हुने आधारले मात्र नेतृत्व चयन गर्नु हुँदैन। कार्यसम्पादन, संगठन निर्माण क्षमता, इमानदारी, जनउत्तरदायित्व र परिणाम दिने क्षमता प्रमुख मापदण्ड बन्नुपर्छ। नेतृत्वले संगठनलाई अघि बढाउन सक्नुपर्छ।
रास्वपा अहिले वैकल्पिक राजनीतिक शक्तिको रूपमा स्थापित हुन खोजिरहेको छ। त्यो दाबीलाई कसरी बलियो बनाउन सकिन्छ ?
वैकल्पिक राजनीति भाषणले होइन, व्यवहारले प्रमाणित हुन्छ। नेतृत्व चयनदेखि नीति निर्माणसम्म फरक अभ्यास देखाउनुपर्छ। यदि हामीले पनि पुरानै दलजस्तै सीमित घेरामा शक्ति केन्द्रित गर्यौं भने जनताले हामीलाई किन फरक मान्ने ? त्यसैले पारदर्शिता, आन्तरिक लोकतन्त्र र अवसरको न्यायोचित वितरण आवश्यक छ।
पार्टीको नेतृत्वमा कुन वर्गको प्रतिनिधित्व अझ बढाउनुपर्छ ?
मलाई लाग्छ ग्रामीण क्षेत्र, किसान, श्रमिक वर्ग, युवा तथा सीमान्तकृत समुदायको प्रतिनिधित्व अझ बलियो हुनुपर्छ। काठमाडौंमा बसेर मात्रै जनताको समस्या बुझिँदैन। गाउँमा दैनिक संघर्ष गरिरहेका, श्रम गरेर जीवन चलाइरहेका र राज्यका अवसरबाट वञ्चित भएका समुदायका प्रतिनिधि नेतृत्वमा आउनुपर्छ।
किन यस्तो प्रतिनिधित्व आवश्यक छ ?
किनभने उनीहरूले जनताको वास्तविक समस्या प्रत्यक्ष रूपमा भोगेका हुन्छन्। नेतृत्वमा त्यस्ता व्यक्ति पुग्दा नीति निर्माण पनि जनताको आवश्यकता अनुसार हुन्छ। लोकतन्त्रको सार नै सबै वर्गको सहभागिता हो। नेतृत्वमा विविधता भयो भने पार्टी पनि जीवन्त र जनमुखी बन्छ।
रास्वपाले आगामी दिनमा कुन मुद्दालाई प्राथमिकता दिनुपर्छ ?
सामान्य नागरिकको जीवनसँग जोडिएका मुद्दालाई प्राथमिकता दिनुपर्छ। रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि, सहकारी, सुशासन र भ्रष्टाचार नियन्त्रण जस्ता विषयलाई केन्द्रमा राख्नुपर्छ। विशेषगरी तल्लो वर्ग र अवसरबाट वञ्चित समुदायको जीवनस्तर सुधार्ने नीति आवश्यक छ।
पार्टीभित्र आन्तरिक लोकतन्त्रको अवस्था कस्तो छ ?
अन्य दलको तुलनामा राम्रो प्रयास भएको छ। तर अझ धेरै सुधारको आवश्यकता छ। महाधिवेशनले त्यसलाई संस्थागत गर्ने अवसर दिएको छ। निर्णय प्रक्रियामा बढी सहभागिता, खुला प्रतिस्पर्धा र विचारको सम्मान हुनुपर्छ। पार्टी बलियो बन्ने आधार यही हो।
महाधिवेशन प्रतिनिधिका रूपमा तपाईंले उठाउने मुख्य एजेन्डा के हो ?
मेरो मुख्य एजेन्डा ‘एक व्यक्ति, एक पद’ को सिद्धान्तलाई स्पष्ट रूपमा विधानमा सुनिश्चित गरिनुपर्छ भन्ने हो। साथै अवसरको न्यायोचित वितरण, समावेशी नेतृत्व, संगठन निर्माणमा योगदान दिएका कार्यकर्ताको सम्मान र जनमुखी नीति निर्माणका विषयलाई जोडदार रूपमा उठाउनेछु।
तपाईंको विचारमा रास्वपाले पुराना दलहरूबाट के सिक्नुपर्छ र के दोहोर्याउनु हुँदैन ?
सकारात्मक पक्ष सिक्नुपर्छ तर शक्ति केही व्यक्तिमा केन्द्रित गर्ने, गुटबन्दी गर्ने र अवसरलाई सीमित घेरामा राख्ने प्रवृत्ति दोहोर्याउनु हुँदैन। जनताले हामीलाई परिवर्तनको आशामा हेरेका छन्। त्यो विश्वास कायम राख्नु सबैभन्दा ठूलो जिम्मेवारी हो।
अन्त्यमा महाधिवेशनका प्रतिनिधि र पार्टी नेतृत्वलाई तपाईंको सन्देश के छ ?
यो महाधिवेशन पद बाँडफाँटको कार्यक्रम मात्र नबनोस्। यसले रास्वपाको भविष्य तय गर्नेछ। हामीले जनताको अपेक्षाअनुसार निर्णय गर्नुपर्छ। यदि हामीले लोकतान्त्रिक, समावेशी र उत्तरदायी नेतृत्व चयन गर्न सक्यौं भने रास्वपाले वैकल्पिक राजनीतिको दाबीलाई व्यवहारमै पुष्टि गर्न सक्छ। मेरो विश्वास छ, यही महाधिवेशनबाट पार्टी अझ परिपक्व, संगठित र जनमुखी रूपमा अघि बढ्नेछ।



