भरतपुर, असार ७ गते । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन आइतबारबाट चितवनको सदरमुकाम भरतपुरमा सुरु हुँदै छ । महाधिवेशनको अन्तिम तयारी पूरा भएको रास्वपा चितवनका अध्यक्ष मिनीमाधव खनालले जानकारी दिनुभयो । “हामीले महाधिवेशनको तयारी पूरा गरेका छौँ । ससाना तयारीका काम अन्तिम अवस्थासम्म पनि भइरहन्छ,” उहाँले भन्नुभयो ।
महाधिवेशनको उद्घाटन समारोहका लागि भरतपुर महानगरपालिका–१० स्थित जिल्ला प्रहरी कार्यालय अगाडिको गेस्ट हाउस चौरमा जर्मन प्रविधिमा आधारित आल्मुनियम संरचनायुक्त डोम निर्माण गरिएको छ । करिब तीन हजार वर्गमिटर क्षेत्रफलमा उक्त डोम निर्माण गरिएको छ । यस्तै रास्वपाको ब्यानर, प्लेकार्ड र तोरणले नव विवाहित दुलही झैँ भरतपुर सजिएको छ । प्रतिनिधिहरूलाई स्वागत गर्न ठाउँ ठाउँमा स्वागत गेट निर्माण गरिएका छन् । महाधिवेशनमा भाग लिन देशविदेशका प्रतिनिधि भरतपुर आउन थालेका छन् । यो व्रmम आइतबार दिनभरि पनि जारी रहने बताइन्छ । “महाधिवेशनमा ३५ सय प्रतिनिधिलाई हामीले चितवनका तीन सयभन्दा बढी होटलमा राख्ने व्यवस्था मिलाएका छौँ,” उहाँले भन्नुभयो ।
महाधिवेशनका लागि केन्द्रीय नेताहरू चितवन आइसक्नुभएको छ । पार्टी सभापति रवि लामिछानेलगायत सम्पूर्ण पदाधिकारी तथा केन्द्रीय सदस्य उपस्थित भइसक्नुभएको छ । आइतबार दिउँसो २ बजे प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह र पार्टी सभापति रवि लामिछानेले महाधिवेशन संयुक्त रूपमा उद्घाटन गर्नुहुने छ । महाधिवेशन उद्घाटन कार्यव्रmममा राष्ट्रिय मान्यता प्राप्त दलका नेताहरूलाई आमन्त्रण गरिएको छ । देशविदेशका शीर्ष नेता पनि महाधिवेशन उद्घाटन समारोहमा सरिक हुनुहुने रास्वपाका केन्द्रीय सदस्य राजन गौतमले जानकारी दिनुभयो ।
ड्रोनमार्फत ट्राफिक व्यवस्थापनको अनुगमन महाधिवेशनमा ट्राफिक व्यवस्थापन सहज बनाउन ड्रोनद्वारा अनुगमन गरिने भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख ट्राफिक प्रहरी निरीक्षक अनिल थापाका अनुसार पश्चिमतर्फबाट आउने सवारीसाधनलाई चितवन माध्यमिक विद्यालयको चौरमा, पूर्वबाट आउने सवारीसाधनलाई विशाल चोक र केन्द्रीय बसपार्कमा पार्किङको व्यवस्था मिलाइएको छ । महाधिवेशन स्थल वरपर ड्रोनले सवारीसाधनको अनुगमन गर्ने र ट्राफिक नियम उल्लङ्घन गर्नेलाई तत्काल कारबाही गरिने पनि उहाँले बताउनुभयो ।
यस्तै मोटर सइकलका हकमा भरतपुर अस्पताल अगाडिको मूल सडकमा पार्किङको व्यवस्था मिलाइएको छ । चारपाङ्ग्रे गाडी पार्किङ स्थलबाट भने कार्यव्रmम स्थलसम्म लैजान बसको व्यवस्था मिलाइएको छ । महाधिवेशन स्थलसँग जोडिने सडकहरू मालपोत चोकदेखि चौबिसकोठीसम्म, दूरसञ्चार र हाकिम चोकदेखि भरतपुर अस्पतालसम्मको सडकमा सवारीसाधन निषेध गरिएको छ ।
प्रदर्शनी कक्षमा बन्दसत्र
बन्दसत्र गरिने स्थल उद्योग सङ्घ चितवनको प्रदर्शनी कक्षको हलको विवाद सुल्झिएको छ । उद्योग मन्त्रालय र जिल्ला सुरक्षा समितिले पत्र नै लेखेर चितवन उद्योग सङ्घलाई हल उपलब्ध गराउन आग्रह गरेपछि सङ्घले बिहीबार साँझ नै हल उपलब्ध गराउने सहमति गरेको हो । बन्द सत्रका लागि हल पाउने निश्चित भएपछि रास्वपाले हलको सरसफाइको काम पनि सम्पन्न गरेको छ ।
विद्युतीय मतदान
रास्वपाको महाधिवेशनमा विद्युतीय प्रणालीमार्फत् मतदान गराइने भएको छ । निर्वाचन समितिका अनुसार प्रतिनिधिहरूले विद्युतीय उपकरणमा उम्मेदवारको नाम र फोटोमा स्पर्श गरेर मतदान गर्ने व्यवस्था मिलाइएको छ । पहिलो चरणमा एक जना सभापति र ९९ जना केन्द्रीय सदस्यका लागि निर्वाचन हुने छ । निर्वाचित सदस्यबाट पदाधिकारीहरूको निर्वाचन गरिने छ । असार ८ गते दिउँसो २ बजेदेखि मनोनयन प्रव्रिmया सुरु गरी सोही दिन साँझ पहिलो चरणको मतदान सम्पन्न गर्ने र त्यसको परिणाम आएपछि भोलिपल्ट पदाधिकारीहरूको चयन गरिने रास्वपा नेता अधिवक्ता यज्ञमणि न्यौपानेले जानकारी दिनुभयो । “हामीले निर्वाचन व्यवस्थापनका लागि तयारी सकेका छौँ । बन्दसत्रपछि निर्वाचनको कार्यक्रम अगाडि बढाइने छ,” उहाँले भन्नुभयो ।



