झापा । स्थानीय तहको नेतृत्व मात्र प्रशासनिक जिम्मेवारीमा सीमित हुँदैन, त्यसले जनताको जीवनस्तरमा प्रत्यक्ष परिवर्तन ल्याउने दृष्टि, योजना र कार्यान्वयन क्षमता पनि माग्छ।
झापाको कमल गाउँपालिका–१ ले कृषि, स्वास्थ्य तथा सामाजिक सुरक्षाका क्षेत्रमा सञ्चालन गरेका विभिन्न कार्यक्रममार्फत यस्तै अभ्यास प्रस्तुत गरेको छ, जसलाई अन्य वडा तथा स्थानीय तहले पनि अनुकरण गर्न सक्ने उदाहरणका रूपमा हेरिएको छ।
कमल गाउँपालिका–१ को नाममा व्यवस्थापन गरिएको १६ कट्ठाभन्दा बढी जमिनलाई उत्पादनमूलक रूपमा उपयोग गर्दै वडा कार्यालयले आलु, टमाटरलगायत विभिन्न सागसब्जी खेती गरिरहेको छ। उत्पादित सामग्री वडाभित्रका विद्यालयमा सञ्चालन हुने दिवा खाजा कार्यक्रमका लागि प्रयोग गर्ने उद्देश्य राखिएको छ। झापा जस्तो उर्वर कृषि भूमिमा वडाको नाममा यति धेरै जमिन व्यवस्थापन गरी सामुदायिक हितमा उपयोग गरिएको उदाहरण विरलै भेटिने स्थानीयको भनाइ छ।
यसैगरी, वडाले प्रत्येक परिवारलाई स्वास्थ्य बीमाका लागि रु. २ हजार सहयोग उपलब्ध गराउँदै आएको थियो। यद्यपि, पछिल्लो समय उक्त सुविधा कटौती गरिएको बताइएको छ।
किसानलाई राहत दिने उद्देश्यले सिँचाइ महसुलमा ६० प्रतिशत नगद अनुदान प्रदान गरिएको छ भने सामाजिक सुरक्षा भत्ता घरदैलोमै वितरण गर्ने व्यवस्था मिलाइएको छ। साथै, वडाको आफ्नै हार्भेस्टर र ट्र्याक्टरमार्फत कृषकलाई सहुलियतपूर्ण कृषि सेवा उपलब्ध गराइँदै आएको छ। अन्यत्र हार्भेस्टर सेवा प्रतिघण्टा रु. ६ हजारदेखि ७ हजारसम्म पर्ने अवस्थामा कमल–१ मा भने रु. ४,५०० मा उपलब्ध गराइएको जनाइएको छ।
यी कार्यक्रमको परिकल्पना र कार्यान्वयनमा वडाअध्यक्ष केदार कटुवालको महत्वपूर्ण भूमिका रहेको स्थानीयवासी बताउँछन्। उनीहरूका अनुसार यस्ता कार्य कुर्सीमा बसेर मात्र सम्भव हुँदैनन्; त्यसका लागि दूरदृष्टि, इमानदारिता र निरन्तर खटाइ आवश्यक पर्छ।
स्थानीयवासीले भोलिका दिनमा कमल–१ मा जोसुकै वडा अध्यक्ष बने पनि यही स्तरको काम, यही गति र यही प्रतिबद्धता कायम राख्न सहज नहुने धारणा व्यक्त गरेका छन्। उनीहरूका अनुसार नेतृत्वको वास्तविक परिचय पदले होइन, कामले स्थापित गर्ने गर्दछ, जसको उदाहरण कमल–१ का वर्तमान वडाअध्यक्षले प्रस्तुत गरेका छन्।



