काठमाडौं– कहिलेकाहिँ फिल्महरू मनोरञ्जनका लागि मात्र बन्दैनन्, ती समाजले लुकाएर राखेका घाउहरू खोल्न पनि आउँछन् ।वर्षौंको विवाद, सामाजिक वहस तथा कानुनी झमेलापछि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ त्यस्तै एउटा फिल्म हो, जसले नेपाली समाजको एउटा यस्तो पाटोलाई उजागर गर्छ, जसलाई हामीले सधैँ हेरेर पनि नहेरे झैँ गरेका छौँ ।
निर्देशक यम थापाले बादी समुदायका महिलामाथि वर्षौंदेखि थोपरिएको कलङ्क, भ्रम तथा तिरस्कारको आवरण हटाएर उनीहरूको जीवनको वास्तविक पीडालाई पर्दामा उतारेका छन् ।फिल्म प्रदर्शनअघि यसले बादी समुदायको मानमर्दन गर्छ भन्ने आवाजहरू निकै चर्का थिए । तर यो फिल्म हेरेपछि महसुस हुन्छ, विरोधको केन्द्रमा रहेको विषयवस्तु होइन, बरु समाजको आफ्नै पूर्वाग्रह रहेछ ।
‘लालीबजार’ ले बादी महिलालाई कुनै सनसनीखेज पात्रका रूपमा होइन, परिस्थितिले थिचेकी, समाजले अपहेलित गरेकी तथा जीवनसँग निरन्तर लडिरहेकी एक मान्छेका रूपमा चित्रण गर्छ । यही संवेदनशीलता नै फिल्मको सबैभन्दा ठूलो शक्ति हो ।
मधुवाला एउटी पात्रमात्र होइनन्, हजारौँ अदृश्य महिलाको प्रतिनिधि आवाज हुन् । बिरामी आमा, बेरोजगार भाइ तथा गरिवीको अन्धकारले घेरिएको जीवनमा उनीसँग विकल्प कम छन्, बाध्यता धेरै ।
आफ्नो शरीर बेच्ने निर्णय उनको चाहना होइन, एउटा निर्दयी सामाजिक संरचनाले थोपरेको नियति हो । यही यथार्थले फिल्मलाई केवल कथा होइन, सामाजिक दस्तावेज बनाइदिन्छ ।
हुलाकी नारायण पन्थीसँगको प्रेमले मधुको जीवनमा आशाको झिल्को ल्याउँछ । चिठीका शब्दहरूबाट प्रारम्भ भएको प्रेम सम्बन्ध विवाहसम्म पुग्छ । तर प्रेमभन्दा ठूलो भएर उभिन्छ जातीय अहङ्कार अनि समाजको कठोरता ।
प्रेम गर्ने साहस राख्ने नारायणसँग प्रेम स्वीकार गर्ने साहस भने हुँदैन । मधु गर्भवती अवस्थामा फेरि त्यही बस्ती फर्किन बाध्य हुन्छिन्, जहाँबाट उनी सम्मानको खोजीमा निस्किएकी थिइन् । यही क्षणमा फिल्मले एउटा कटु सत्य उजागर गर्छ– हाम्रो समाज प्रेमभन्दा बढी जातलाई, सम्बन्धभन्दा बढी प्रतिष्ठालाई महत्त्व दिन्छ ।
मधुको संघर्ष त्यतिमै सकिँदैन । छोरी महारानीको भविष्य बनाउने यात्रामा उनले अर्को ठूलो लडाइँ लड्नु पर्छ । बुवाको पहिचानबिना जन्मिएकी सन्तानले नागरिकता पाउन नसक्ने सामाजिक तथा कानुनी विभेद फिल्मको सबैभन्दा शक्तिशाली पक्ष बनेर उभिन्छ । राज्यका कागजहरूमा नाम नपाउँदा एउटा बच्चाको सपना कसरी अपमानित हुन्छ भन्ने प्रश्न फिल्मले दर्शकको मनमा रोपिदिन्छ । यो मधुको मात्र कथा होइन, राज्यले नागरिक मान्न अस्वीकार गरेका हजारौँ सन्तानको कथा हो ।
फिल्मको सबैभन्दा भावुक क्षण तब आउँछ, जब मधु छोरीको भविष्यका लागि यौनकर्मीको पेसा त्यागेर गिट्टी कुट्न थाल्छिन् । समाजले उनको शरीरलाई अपवित्र भन्यो, तर त्यही समाजले उनको पसिनाको मूल्य बुझेन । एउटा आमाले आफ्ना सन्तानका लागि गर्ने संघर्षको यति गहिरो र मार्मिक चित्रण नेपाली फिल्ममा विरलै देख्न पाइन्छ ।
मधुको अनुहारमा देखिने थकान, आँखामा लुकेको सपना र मौन पीडाले दर्शकलाई पटक–पटक भावुक बनाउँछ ।
अभिनयतर्फ स्वस्तिमा खड्काले आफ्नो करिअरकै सम्भवतः सबैभन्दा सशक्त भूमिका निर्वाह गरेकी छिन् । उनले मधुको पीडालाई अभिनय होइन, जीवन झैँ बाँचेको महसुस हुन्छ । संवादभन्दा बढी उनका आँखा बोल्छन् । स्थानीय लवज, शारीरिक हाउभाउ र भावनात्मक उतारचढावलाई उहाँले यति स्वाभाविक ढङ्गले प्रस्तुत गर्नुभएको छ कि कतिपय दृश्यहरूमा दर्शक पात्र र कलाकारबीचको भिन्नता नै बिर्सन्छ ।
विशाल देवकोटाले पहिलो फिल्ममै परिपक्व अभिनय प्रस्तुत गरेका छन् । प्रेम र सामाजिक दवावबीच च्यापिएको नारायणको द्वन्दलाई उनले संयमित ढङ्गले व्यक्त गर्नुभएको छ । रवीन्द्र सिंह बानियाँले आफ्नो परिचित प्रभावशाली अभिनयमार्फत कथामा आवश्यक कठोरता थपेका छन् ।
प्राविधिक रूपमा पनि यो फिल्म सवल छ । छायाङ्कनले बादी बस्तीको धुलाम्मे यथार्थलाई जीवन्त बनाएको छ । दृश्य संयोजन, रङको प्रयोग र कला निर्देशनले कथाको भावनात्मक गहिराइलाई अझ बलियो बनाउँछन् ।
यद्यपि, कथाको गम्भीरता र मौलिक सामाजिक सन्देश हुँदा–हुँदै पनि कतिपय स्थानमा दक्षिण भारतीय व्यावसायिक शैलीको प्रभाव देखिन्छ । त्यसले फिल्मलाई पूर्णतः मौलिक सिनेम्याटिक उचाइमा पुग्नबाट केही रोक्छ । तर यो कमजोरीले यसको मूल संवेदनालाई कमजोर बनाउँदैन ।
‘लालीबजार’ हेर्दा बारम्बार एउटा प्रश्न मनमा उठिरहन्छ– समाजले कसलाई पापी बनायो ? आफ्नो शरीर बेच्न बाध्य महिलालाई कि त्यो बाध्यता सिर्जना गर्ने संरचनालाई ? फिल्मले कुनै उत्तर दिँदैन, तर दर्शकलाई प्रश्नसँगै घर फर्काउँछ ।
यही कारण ‘लालीबजार’ मात्र फिल्म होइन, हाम्रो सामूहिक विवेकको परीक्षा हो । यसले बादी समुदायलाई हेर्ने दृष्टिकोण बदल्न आग्रह गर्छ । यसले महिलाको अस्तित्व, सम्मान र नागरिकताको अधिकारमाथि वहस प्रारम्भ गर्छ । र सबैभन्दा महत्त्वपूर्ण कुरा, यसले सम्झाउँछ–समाजले लगाएको दागभन्दा आमाको पसिना धेरै पवित्र हुन्छ ।
जब पर्दा बन्द हुन्छ, कथा सकिन्छ । तर मधुवालाको संघर्ष दर्शकको मनभित्र लामो समयसम्म बाँचिरहन्छ । सायद यही एउटा सफल फिल्मको सबैभन्दा ठूलो विजय हो ।



