निरोज चौलागाई, हेलम्बु / पछिल्लो समय उच्च हिमाली भेग आन्तरिक तथा बाह्य पर्यटकको रोजाइ पर्ने गरेको छ । प्राकृतिक सौन्दर्य, हिमशृङ्खलाको मनोरम दृश्य, जैविक विविधता तथा मौलिक संस्कृति अवलोकन गर्ने पर्यटकहरूको रोजाइ पछिल्लो समय उच्च हिमाली क्षेत्र बन्न थालेका छन्। कृत्रिम संरचनाभन्दा प्राकृतिक रूपमा विकसित गन्तव्यप्रति आकर्षण बढ्दै जाँदा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले ४ हजार २ सय मिटर उचाइमा रहेको छ्यादी घ्याङलाई नयाँ पर्यटकीय गन्तव्य तथा ट्रेकिङ हबका रूपमा विकास गर्ने दीर्घकालीन योजना अघि सारेको छ।
आइतबार हेलम्बु गाउँपालिका–१ मा अवस्थित उच्च हिमाली क्षेत्र छ्यादी घ्याङमा गाउँपालिकाको कार्यपालिका बैठक सम्पन्न भएको छ। पर्यटकीय सम्भावनाले भरिपूर्ण यस क्षेत्रलाई आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित स्थलगत अध्ययन र योजना निर्माणका लागि बैठक आयोजना गरिएको गाउँपालिकाले जनाएको छ।
रसुवाको प्रसिद्ध दूधकुण्ड क्षेत्रसँग जोडिएको छ्यादी घ्याङ उच्च हिमाली तथा उच्च उचाइ (हाइ अल्टिच्युड) क्षेत्रमा पर्दछ। हेलम्बु गाउँपालिकाले निर्माणाधीन ग्रेट ट्रेल तथा लाङटाङ राष्ट्रिय निकुञ्जसँगको पहुँचलाई उपयोग गर्दै यस क्षेत्रलाई पर्यटनको नयाँ केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको छ।
४ हजार ३ सय मिटरको उचाइमा गाउँपालिकाको कार्यपालिका बैठक आयोजना हुनु आफैंमा साहसिक र ऐतिहासिक अभ्यास मानिएको छ। स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी तथा सञ्चारकर्मीको टोली दुर्गम क्षेत्रमा पुगेर प्रत्यक्ष अवलोकन गर्दै विकास योजना बनाउनु पर्यटन प्रवर्द्धनको नयाँ अभ्यास भएको स्थानीयवासी बताउँछन्।

विनाशकारी २०७२ सालको भूकम्पपछि सुस्ताएको हेलम्बु क्षेत्रको पर्यटन गतिविधि पछिल्ला वर्षहरूमा पुनः लयमा फर्किन थालेको छ। स्थानीय पर्यटन व्यवसायी निम्बा शेर्पाका अनुसार भूकम्पअघि उल्लेख्य संख्यामा विदेशी पर्यटक आउने यस क्षेत्रमा हाल पर्यटक आगमन करिब २५ प्रतिशतले वृद्धि भएको छ। अहिले जर्मनी, अमेरिका, बेलायत, फ्रान्स लगायत विभिन्न मुलुकका पर्यटकहरू हेलम्बु भ्रमणमा आउने गरेका छन्। साथै, आन्तरिक पर्यटकको संख्या पनि उल्लेखनीय रूपमा बढेको छ।
छ्यादी घ्याङ जस्ता सम्भावनायुक्त तर ओझेलमा परेका क्षेत्रहरूको प्रचार–प्रसारले स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। हेलम्बु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बेनीबहादुर मोक्तानले उच्च हिमाली क्षेत्रको दिगो विकास, पदमार्ग स्तरोन्नति तथा जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि स्थानीय तहको सीमित स्रोतले मात्र नपुग्ने भएकाले प्रदेश र संघीय सरकारसँग सहकार्य आवश्यक रहेको बताए।
गाउँपालिकाले पर्यटन प्रवर्द्धन र जलवायु परिवर्तनसम्बन्धी कार्यक्रमहरूलाई नयाँ ढंगले अघि बढाउने नीति लिएको छ। काठमाडौँका सुविधासम्पन्न होटलमा मात्र गोष्ठी र सेमिनार गर्ने परम्परागत अभ्यासलाई परिवर्तन गर्दै सम्भावना बोकेका दुर्गम पर्यटकीय क्षेत्रमा पुगेर नीति निर्माण तथा बैठक सञ्चालन गर्न थालिएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए।

हाल यस क्षेत्र हुँदै प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य गोसाइँकुण्ड, हेलम्बु तथा लाङटाङ राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने पर्यटकहरूको संख्या बढिरहेको छ। मौसम सफा भएका बेला छ्यादी घ्याङबाट रसुवा, नुवाकोट, काभ्रे, दोलखा लगायतका जिल्लाका मनोरम दृश्य अवलोकन गर्न सकिन्छ। साथै, लाङटाङ राष्ट्रिय निकुञ्जको वन क्षेत्र र हिमाली भू–दृश्यले यस क्षेत्रलाई थप आकर्षक बनाएको छ।
विशेषज्ञहरूका अनुसार हिमाली पर्यटनको दिगो विकासका लागि वातावरण संरक्षण, फोहोर व्यवस्थापन, पदमार्ग सुधार तथा स्थानीय समुदायको सक्रिय सहभागिता अपरिहार्य छ। प्राकृतिक सम्पदाको संरक्षणसँगै पर्यटन पूर्वाधार विस्तार गर्न सकिए उच्च हिमाली पर्यटन नेपालको आर्थिक समृद्धिको महत्वपूर्ण आधार बन्न सक्ने देखिन्छ।



