काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता डा. नरेश भट्टले पार्टी वर्तमान परिप्रेक्ष्यमा दिशाविहीन भएको र आन्तरिक लोकतन्त्र संकुचित बनेको भन्दै नेपाली कांग्रेसको सक्रिय राजनीतिबाट विदा लिने घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत एक भावुक र गम्भीर वक्तव्य जारी गर्दै उनले कांग्रेससँगको आफ्नो लामो राजनीतिक यात्रामा हाललाई ‘पूर्णविराम’ लगाएको जानकारी दिएका हुन्। भट्ट नेविसंघका निवर्तमान केन्द्रीय सदस्य समेत हुन् ।
आफ्नो जीवनको उर्वर समय कांग्रेसको राजनीतिमा समर्पित गरेको उल्लेख गर्दै डा. भट्टले पार्टीभित्रको आन्तरिक सिन्डिकेट र अवसरको असमान वितरणप्रति कडा असन्तुष्टि पोखेका छन्। “लोकतान्त्रिक पार्टी भनिए तापनि, दशौँ वर्षसम्म एउटा आन्तरिक चुनावमा समेत उभिने अवसर नपाउनु यहाँको कस्तो विडम्बना हो,” उनले भनेका छन्, “मैले गुम्सिएका कैयौँ साथीहरूको पीडा र आवाजलाई नजिकबाट महसुस गरेको छु।”
वीपीको विचार हराएको र राष्ट्रिय मुद्दामा मौन रहेको आरोप
नेता भट्टले कांग्रेसले आफ्नो मूल सिद्धान्त र इतिहास बिर्सिँदै गएको टिप्पणी गरेका छन्। इतिहासको संवेदनशील घडीमा पार्टी दिशाविहीन भएको र राष्ट्रिय मुद्दाहरूमा मौन बसेको उनको आरोप छ।
“मैले बारम्बार वीपीलाई खोजेँ, अनि सम्झिएँ— वीपी अब जीवित हुनुहुन्न, र उहाँले देखाएको बाटोमा आज पार्टी छैन। हामी वीपीको खोजी जारी राख्नेछौँ,” वक्तव्यमा भनिएको छ। आगामी १५ औँ महाधिवेशनले के गर्छ भन्ने कुरा भविष्यको गर्भमा भए पनि वर्तमान नेतृत्व र कार्यशैलीप्रति उनले गम्भीर प्रश्न उठाएका छन्।
‘अध्यायको अन्त्य, तर यात्रा जारी छ
कांग्रेसको राजनीतिबाट अलग भए पनि देश र जनताप्रतिको आफ्नो निष्ठा र लोकतान्त्रिक मूल्य-मान्यता नसकिएको डा. भट्टले प्रष्ट पारेका छन्। उनले राष्ट्र र जनताका लागि आवश्यक परेको ठाउँमा आफ्नो उपस्थिति र योगदान सदैव रहने प्रतिबद्धता व्यक्त गरे।
“एउटा अध्यायको अन्त्य भएको छ, तर यात्रा जारी छ,” उनले अगाडि भनेका छन्, “नयाँ ऊर्जाका साथ राष्ट्रको सेवामा समर्पित हुनेछु।”
पार्टीभित्र प्रखर र वैचारिक पहिचान बनाएका युवा नेता डा. भट्टको यो बहिर्गमनलाई कांग्रेसभित्र मौलाउँदै गएको निराशा र पुस्तान्तरणको संकटको रूपमा हेरिएको छ।



