काठमाडौं : नेपाली कांग्रेसकी सांसद गीता गुरुङले गणतन्त्र केवल सिंहदरबारको शासकीय संरचना फेरिने राजनीतिक उत्सव मात्र नभएर रैती मानसिकताबाट नागरिक सम्प्रभुतामा हिँडेको नेपाली चेतनाको युगान्तकारी महाप्रस्थान भएको बताउनुभएको छ। गणतन्त्र दिवसको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै सांसद गुरुङले गणतन्त्रको वास्तविक सार्थकताकाे विषय उठाउनुभएकाे हाे ।

राज्यको मूलधारबाट ओझेलमा परेका र आवाजविहीन नागरिकहरूको पक्षमा वकालत गर्दै उहाँले भन्नुभयो, ´गणतन्त्र तिनका लागि पनि हो, जसले अझै पनि राज्यको उपस्थिति अनुभूत गर्न पाएका छैनन्, जसका आवाजहरू सधैं सीमान्तमा पारिएका छन्, र जसका सपनाहरू अझै न्याय र समानताको पर्खाइमा छन्।´

भौगोलिक र सामाजिक रूपमा पछाडि पारिएका नागरिकले जबसम्म राज्यमा आफ्नो हिस्सा देख्दैनन्, तबसम्म व्यवस्थाले पूर्णता नपाउने उहाँको तर्क छ। शुभकामना सन्देशमा सांसद गुरुङले भूगोलको दुर्गमता र समाजको अन्तिम पंक्तिमा रहेका नागरिकले राज्यको नीति र नियतिमा आफ्नो अस्तित्व र स्वामित्व अनुभूत गर्न पाउनु नै गणतन्त्रको असली सार्थकता भएको उल्लेख गर्नुभयो।

एक जनप्रतिनिधिको हैसियतले आफू राष्ट्र र जनताप्रति सदैव जबाफदेही रहने प्रण गर्दै उहाँले सहिदहरूको सर्वोच्च बलिदानलाई साक्षी राखेर संसद्‌भित्र र बाहिर सधैं विपन्न, उपेक्षित र निमुखा नागरिकको न्यायपूर्ण आवाज र सुशासनका लागि निष्ठापूर्वक वकालत गरिरहने प्रतिबद्धता समेत दोहोर्‍याउनुभएको छ।

सांसद गुरुङले गणतन्त्रले भूगोललाई मात्र नजोडी समग्र नेपाली मनहरूबीचको भावात्मक र न्यायपूर्ण सामीप्यतालाई अझ सुदृढ गरोस् भन्दै देशविदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको