काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले सरकारका पछिल्ला गतिविधि लोकतान्त्रिक मूल्य, संवैधानिक मर्यादा र विधिको शासनविपरीत उन्मुख भएको आरोप लगाउनुभएको छ ।
स्कुल अफ डेमोक्रेसीले काठमाडौंमा आयोजना गरेको ” लोकतन्त्रमा विधिको शासन ” बिषयक विमर्शमा महरले सरकारद्वारा गठन गरिएको सम्पत्ति छानबिन आयोगको कार्यादेश नै पूर्वाग्रही र चयनात्मक (Selective) प्रकृतिको देखिएको टिप्पणी गर्नुभयो । उहाँले आयोगलाई निष्पक्ष अनुसन्धानको माध्यमभन्दा पनि सरकारसँग असहमति राख्न सक्ने व्यक्ति, राजनीतिक शक्ति वा आलोचकलाई लक्षित गर्दै ‘ठेगान लगाउने’ उपकरणका रूपमा प्रयोग गर्न खोजिएको आशंका व्यक्त गर्नुभयो ।
“लोकतन्त्रमा कानुन कसैको पक्ष वा विपक्षमा उभिनु हुँदैन । राज्य संयन्त्र प्रतिशोध साँध्ने माध्यम बन्न थाल्यो भने त्यो विधिको शासन होइन, व्यक्तिको शासनतर्फको खतरनाक संकेत हो,” महरले भन्नुभयो ।
उहाँले भ्रष्टाचार नियन्त्रण, सुशासन र पारदर्शिताका नाममा गरिने हरेक कदम निष्पक्ष, विश्वसनीय र समान हुनुपर्ने उल्लेख गर्दै सम्पत्ति छानबिनको दायरा सत्ता, प्रतिपक्ष, कर्मचारीतन्त्र तथा सार्वजनिक जीवनमा रहेका सबै व्यक्तिमा समान रूपमा लागू हुनुपर्ने धारणा राख्नुभयो ।
“लोकतन्त्रमा कसैलाई बचाउने र कसैलाई मात्रै निशाना बनाउने प्रवृत्ति स्वीकार्य हुँदैन । कानुनको समान प्रयोग नै लोकतन्त्रको आधार हो । यदि राज्यका निर्णयहरू आग्रह, पूर्वाग्रह र राजनीतिक प्रतिशोधबाट निर्देशित हुन्छन् भने त्यसले लोकतन्त्रप्रति जनविश्वास कमजोर बनाउँछ,” उहाँले बताउनुभयो ।
महरले लोकतान्त्रिक प्रणालीको आत्मा विधिको शासन, संस्थागत मर्यादा र नागरिक स्वतन्त्रतामा आधारित हुने उल्लेख गर्दै सरकार लोकतान्त्रिक चरित्रबाट विचलित हुन नहुने चेतावनी दिनुभयो ।
हामीले त २०१७ सालदेखि सार्वजनिक पदमा बसेका सबै व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्छ भन्ने आवाज निरन्तर उठाउँदै आएका हौं । तर त्यसको निष्पक्ष कार्यान्वयन हुन सकेको छैन,” महरले भन्नुभयो ।
उहाँले राज्यका सबै निकाय संविधान र कानुनको सीमाभित्र रहेर निष्पक्ष ढंगले सञ्चालन हुनुपर्नेमा जोड दिँदै लोकतान्त्रिक मूल्यको रक्षा गर्नु आजको प्रमुख राष्ट्रिय आवश्यकता भएको बताउनुभयो ।



