काठमाडौं : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीको पछिल्लो केन्द्रीय सदस्य मनोनयनप्रति असन्तुष्टि जनाउँदै कांग्रेसको बृहत्तर एकतामा ठेस पुगेको टिप्पणी गर्नुभएको छ । सभापति शेरबहादुर देउवाले वैशाख २८ गते १९ जना केन्द्रीय सदस्य मनोनयन गरेपछि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

नेता कोइरालाले पार्टीभित्रको गुट(उपगुटको अन्त्य र भावनात्मक एकतामा जोड दिँदै १५ औं महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्ने प्रस्ताव समेत अघि सार्नुभएको छ ।

पार्टीको समग्र एकताविना राष्ट्रिय राजनीतिमा सार्थक भूमिका खेल्न नसकिने कोइरालाको तर्क छ । `विगतको निर्वाचन परिणामले हामीलाई धेरै ठूलो शिक्षा दिएको हुनुपर्छ, कांग्रेसको समग्र एकता नै राष्ट्रको आवश्यकता हो´ उहाँले भन्नुभएको छ, यसमा पद र व्यक्तिको कुरा गौण हुन जान्छ ।´

 चुनावी चुनौती र नागरिकको भरोसा

विभाजित कांग्रेसले आम नागरिकको विश्वास गुमाउने खतरा औंल्याउँदै उहाँले आगामी स्थानीय र प्रदेश तहको निर्वाचनप्रति सचेत गराउनुभएको छ । निर्वाचनमा नागरिकको भरोसा जित्न नसके राष्ट्रिय राजनीतिमा कांग्रेसको औचित्यमाथि नै प्रश्न उठ्ने उहाँको विश्लेषण छ ।

 पपुलिज्म र लोकतन्त्रमाथिको खतरा

वर्तमान समयमा लोकतन्त्र र संविधानवादमाथि आक्रमण भइरहेको भन्दै उहाँले पपुलिज्मका विरुद्ध उभिन पार्टी एक हुनुपर्ने बताउनुभएको छ । यस्तो अवस्थामा पनि पार्टी गुटउपगुटमा विभाजित हुनु उदेकलाग्दो भएको उहाँको टिप्पणी छ ।

 १५ औं महाधिवेशनको मार्गचित्र

नेता कोइरालाले कांग्रेस एकताको मुख्य आधार आगामी महाधिवेशन हुनुपर्ने उल्लेख गर्नुभएको छ । उहाँले १४ औं महाधिवेशनपछि नवीकरण गरिएका र नयाँ वितरण गरिएका क्रियाशील सदस्यकै आधारमा १५ औं महाधिवेशन सम्पन्न गरिनुपर्ने माग राख्नुभएको छ ।

पार्टीका निर्णायक तहमा रहेका नेताहरूलाई सामूहिक भावना र साझा विचारबाट अगाडि बढ्न आग्रह गर्दै उहाँले संघर्षशील र त्यागी युवाहरूको राजनीतिक भविष्य सुनिश्चित गर्न पनि नागरिकमैत्री पार्टी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको