काठमाडौँ । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले सामाजिक सञ्जालमा महिलामाथि भइरहेको भद्दा र अमर्यादित टिप्पणीप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। लोकतन्त्रमा असहमतिलाई सम्मान गर्ने संस्कार हुनुपर्नेमा महिलाको चरित्र र शरीरलाई लिएर हुने प्रहारले समाजको सभ्यतामाथि नै प्रश्न उठाएको उहाँको तर्क छ।

आफ्नो आधिकारिक सामाजिक सञ्जालमा एक धारणा सार्वजनिक गर्दै सांसद गुरुङले विचारलाई तर्क र तथ्यले खण्डन गर्नुको सट्टा यौनजन्य हिंसाको धम्की र चरित्र हत्यालाई बहसको अस्त्र बनाइनु पितृसत्तात्मक मानसिकताको निकृष्ट स्वरूप भएको उल्लेख गर्नुभएको छ।

`विचारलाई तर्क र तथ्यका आधारमा खण्डन गर्नुको सट्टा शरीर, चरित्र वा यौनजन्य हिंसाको धम्कीलाई ‘बहसको अस्त्र’ बनाउनु बौद्धिक दरिद्रता हो,उहाँले लेख्नुभएको छ, `यस्तो प्रवृत्तिले समावेशी सार्वजनिक विमर्शको ढोकै बन्द गरिदिन्छ।´

लोकतन्त्र कि भीडतन्त्र ?
डिजिटल माध्यममा व्यक्त हुने लाञ्छनायुक्त अभिव्यक्तिले लोकतन्त्रलाई भीडतन्त्रमा रूपान्तरण गर्ने जोखिम बढेकोतर्फ उहाँले सचेत गराउनुभएको छ। लोकतन्त्रको वास्तविक सौन्दर्य विचारको बहुलता र असहमतिलाई स्वीकार गर्ने संस्कारमा रहने उहाँको ठम्याइ छ।

सांसद गुरुङले अगाडि भन्नुभएको छ, `लोकतन्त्र साँचो अर्थमा त्यतिबेला मात्र जीवन्त हुन्छ, जब राज्य र समाज दुवैले फरक मत राख्ने प्रत्येक नागरिकको आत्मसम्मान र सुरक्षाको पूर्ण प्रत्याभूति गर्छन्।´

सांस्कृतिक चेतनाको खाँचो
भौतिक विकास र कानुनी साक्षरताले मात्र समाज सभ्य नहुने भन्दै उहाँले नागरिकमा विमति सुन्ने धैर्यता र सहिष्णुताको विकास हुनुपर्नेमा जोड दिनुभएको छ। सभ्य समाजको पहिचान भाषणमा नभई दैनिक व्यवहार र प्रयोग गरिने भाषामा झल्किने भन्दै उहाँले अरूको आत्मसम्मानमा ठेस लगाउने कार्यको निन्दा गर्न आह्वान समेत गर्नुभएको छ।

स्वतन्त्रताको दुरुपयोग गर्दै भइरहेका यस्ता अमर्यादित कार्यविरुद्ध एकजुट हुन र सभ्य समाज निर्माणमा लाग्न उहाँले सम्पूर्ण नागरिकलाई आग्रह गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको