नेपालको सर्वोच्च शिखर सगरमाथाको काखमा रहेको सोलुखुम्बु जिल्ला। भूगोल जति विशाल छ, यहाँका बासिन्दाको संघर्ष पनि उत्तिकै उच्च छ। त्यही विकट भूगोल, थुलुङ दुधकोशीको जुबुमा जन्मिएकी एक जोसिली महिला हुन्— गीता गुरुङ। ३० वर्षको युवा उमेरमै नेपाली राजनीतिमा आफ्नो बलियो उपस्थिति जनाएकी गीता यतिबेला सोलुखुम्बुबाट प्रतिनिधि सभाका लागि समानुपातिक उम्मेदवार बनेर संसदको यात्रा तय गर्दैछिन्।

संघर्षको जग : विद्यालयदेखि केन्द्रसम्म
गीताको राजनीतिक यात्रा कुनै ठुलो पदको विरासतबाट होइन, बरु जुबुको जनकल्याण माध्यमिक विद्यालयको विद्यार्थी राजनीतिबाट सुरु भएको हो। विद्यालयमा नेविसंघको इकाइ अध्यक्ष हुँदै जिल्ला उपाध्यक्ष र पछि केन्द्रीय सदस्यसम्मको यात्रा तय गर्दा उनले गाउँका बाटोहरू मात्र नापिनन्, विद्यार्थीका हक(हितका लागि सडकदेखि नीतिगत तहसम्म आवाज उठाइन्।

शैक्षिक योग्यता र भिजन
हिमालको फेदबाट काठमाडौँसम्म आइपुग्दा उनले शिक्षालाई कहिल्यै पछि छाडिनन्। त्रिचन्द्र क्याम्पसबाट विज्ञानमा स्नातक र त्रिभुवन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर गरेकी गीतासँग समसामयिक राजनीति र विश्व राजनीतिलाई हेर्ने आफ्नै स्पष्ट दृष्टिकोण छ। पढेका युवाहरू राजनीतिमा आउनुपर्छ भन्ने मान्यतालाई उनले आफ्नै व्यक्तित्वबाट प्रमाणित गरेकी छन्।

हिमाली जिल्लाको कठिन प्रतिनिधित्व
सोलुखुम्बु जस्तो हिमाली जिल्लाबाट राजनीति गर्नु सामान्य कुरा होइन। त्यहाँको कठिन भूगोल, छरिएका बस्ती र जनताका आधारभूत आवश्यकताका लागि लड्नु एक ठुलो चुनौती हो। तर, गीता गुरुङ जस्ती मेहनती नेतृका लागि यी अवरोधहरू अवसरमा बदलिएका छन्। कोशी प्रदेश सदस्य र महाधिवेशन प्रतिनिधिको भूमिका कुशलतापूर्वक निभाएर उनले पार्टी र जनताको विश्वास जितिसकेकी छन्।

संसदमा युवा आवाजको प्रतिक्षा
नेपाली कांग्रेसले उनलाई समानुपातिक उम्मेदवार बनाएपछि सोलुखुम्बुका युवाहरूमा नयाँ उत्साह देखिएको छ। एकातर्फ हिमालको माटो र अर्कोतर्फ उच्च शैक्षिक योग्यता बोकेकी गीताले संसदमा पुगेर केवल आफ्नो जिल्लाको मात्र होइन, समग्र देशका युवा र महिलाहरूको प्रतिनिधित्व गर्ने अपेक्षा गरिएको छ।

मेहनत नै मेरो पुँजी हो र सोलुको विकास नै मेरो लक्ष्य हो भन्ने गीता गुरुङको यो यात्रा अब केवल एउटा व्यक्तिको यात्रा मात्र रहेन, यो त संघर्ष गर्ने हरेक हिमाली महिलाको सपनाको प्रतिनिधित्व बनेको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर