काठमाडौँ : आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सुसम्पन्न गर्न ‘पर्यावरणीय लोकतन्त्रका लागि नागरिक अभियान’ले विशेष अपिल गरेको छ । अभियानले शनिबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगद्वारा जारी ‘निर्वाचन आचारसंहिता–२०८२’ को पूर्ण पालनाका लागि सबै सरोकारवाला पक्षहरूको ध्यानाकर्षण गराएको हो ।

विज्ञप्तिमा उल्लेख भएअनुसार, हालसम्म आचारसंहिताको कार्यान्वयन आधारभूत रूपमा सकारात्मक देखिए तापनि पछिल्ला दिनहरूमा उल्लङ्घनका घटनाहरू सार्वजनिक हुनु चिन्ताको विषय बनेको छ । विशेष गरी निर्वाचनको अघिल्लो समय ‘मौन अवधि’ मा आचारसंहिता उल्लङ्घनको जोखिम उच्च रहने विगतको अनुभवलाई दृष्टिगत गर्दै अभियानले सतर्कता अपनाउन आग्रह गरेको छ ।

“भय, त्रास, लोभ र प्रलोभनयुक्त वातावरणमा गरिने निर्वाचनले लोकतान्त्रिक प्रणालीलाई सुदृढ गर्न सक्दैन,” विज्ञप्तिमा भनिएको छ, “निर्वाचनलाई निष्पक्ष र पारदर्शी बनाउनु हामी सबैको साझा जिम्मेवारी हो ।”
नागरिक अभियानले नेपाल सरकार, राजनीतिक दल, सुरक्षा निकाय, सञ्चार जगत्, निर्वाचन पर्यवेक्षक, उम्मेदवार तथा आम मतदाताहरूलाई आचारसंहिताको अक्षरशः पालना गर्न हार्दिक अपिल गरेको छ ।
अपिल गर्नेहरूमा अभियानका सदस्यहरू नरेन खतिवडा, डा. चिरन्जिवी भट्टराई, गंगा देवी कडेल, मन्जु गुरुङ्ग, भोला भट्टराई, खगेन्द्र ओली, अधिवक्ता गणेश धामी, प्रयास अधिकारी, सरोज गिरी, लोकेन्द्र राज गिरी, अधिवक्ता भुपेन्द्र शाह, योगेन्द्र विजय दाहाल, राम रोहन पन्त, कर्ण बहादुर नेपाली, संजय पन्थी, सागर देवकोटा, जिना यादव, जिया राजभण्डारी र समिर परियार रहनुभएको छ ।

अभियानले स्वच्छ निर्वाचन नै लोकतन्त्रको प्राणवायु भएको उल्लेख गर्दै वातावरणीय र सामाजिक न्यायसहितको लोकतन्त्रका लागि सबैलाई जिम्मेवार बन्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको