सर्लाही । आगामी प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढिरहेका बेला सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ मा नयाँ राजनीतिक समीकरण बनेको छ। राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालबाट उम्मेदवारी दिएका महेशराज दाहालले आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन्।
दाहालले सर्लाहीको बागमतीमा आयोजित एक विशेष कार्यक्रमका बीच चुनावी मैदानबाट बाहिरिने निर्णय गर्दै नेपाली कांग्रेसका उम्मेदवार विनोदकुमार खनाललाई समर्थन गर्ने बताएका हुन्। जाँतो चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रिएका दाहालले अब आफ्नो सम्पूर्ण टिम खनालको पक्षमा परिचालन हुने स्पष्ट पारेका छन्। दाहालले भने, ‘मैले आफ्नो उम्मेदवारी फिर्ता लिएको छु। अब म र मेरो पार्टीको तर्फबाट कांग्रेस उम्मेदवार विनोदकुमार खनाललाई पूर्ण समर्थन रहनेछ।’
कांग्रेस उम्मेदवार खनालले दाहालको यो कदमप्रति आभार व्यक्त गर्दै यसले जिल्लामा लोकतान्त्रिक शक्तिहरूलाई थप मजबुत बनाउने र विजय सुनिश्चित गर्ने विश्वास व्यक्त गरे। दाहालको उम्मेदवारी फिर्ता र कांग्रेसलाई समर्थन गर्ने निर्णयले सर्लाही–३ को चुनावी समीकरणमा ठूलो फेरबदल ल्याउने देखिन्छ। यसले एकातिर मत विभाजन रोक्नेछ भने अर्कोतिर लोकतान्त्रिक गठबन्धनको मनोबल उच्च बनाएको स्थानीय राजनीतिक विश्लेषकहरूको बुझाइ छ।



