काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ क्षेत्र नं ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप पौडेललाई वरिष्ठ कलाकार नीर शाहले जितको शुभकामना दिएका छन् । बुढानीलकण्ठ नगरपालिका वडा नं। ६ स्थित खड्का टोलमा जारी घरदैलो कार्यक्रमका क्रममा कलाकार शाह र पौडेलबीच भेट भएको हो। भेटका क्रममा समसामयिक राजनीतिक विषयमा संक्षिप्त कुराकानी गर्दै शाहले पौडेलको चुनावी सफलताको कामना गर्दै अल द बेस्ट भनेका थिए।
महामन्त्री पौडेल यतिबेला काठमाडौँ ५ का विभिन्न टोलहरूमा पुगेर मतदातासँग प्रत्यक्ष संवादमा व्यस्त छन्। बुधबार उनले बुढानीलकण्ठ ६ का भद्रकाली, खडका टोल, इटालीटार, खड्का गाउँ, न्यू कोलोनी र गणेश चोक लगायतका क्षेत्रमा घरदैलो गरे । त्यसैगरी, बुढानीलकण्ठ ४ का शिव मन्दिर, सुनाखरी टोल र चपली कार्की गाउँका बासिन्दासँग पनि उनले भेटघाट गरे। भेटका क्रममा स्थानीय मतदाताले पौडेलले विकास निर्माणमा पुर्याएको योगदान र स्वास्थ्यमन्त्री हुँदा चालेका सुधारका कदमहरूको प्रशंसा गर्दै जितको शुभकामना दिएका थिए ।
के छन् पौडेलका प्रतिबद्धता ?
मतदाताहरूसँगको कुराकानीमा उम्मेदवार पौडेलले विगतमा आफूले इमानदारिताका साथ क्षेत्रीय र राष्ट्रिय मुद्दाहरूमा काम गरेको स्मरण गराए। उनले आगामी कार्यकालका लागि आफ्ना मुख्य योजनाहरू यसरी अघि सारेस्
पूर्वाधार विकास : अलपत्र अवस्थामा रहेको चक्रपथ विस्तार कार्यलाई गति दिने।
खानेपानी : मेलम्ची खानेपानी आयोजनाको सुधार र वितरण प्रणालीलाई व्यवस्थित बनाउने।
करिडोर निर्माण : विष्णुमति करिडोर लगायतका क्षेत्रगत विकासका कामहरूलाई पूर्णता दिने।
स्वास्थ्य सुधार : स्वास्थ्यमन्त्रीका रूपमा सुरु गरेका सुधारका कार्यहरूलाई थप प्रभावकारी बनाउने।
पौडेलले आगामी दिनमा पनि क्षेत्रको विकास र देशको समृद्धिका लागि पूर्ण प्रतिबद्ध भएर लाग्ने प्रण गरे।



