काठमाडौँ । काठमाडौँ क्षेत्र नं२ को चुनावी इतिहासमा यस पटक एक फरक दृश्य देखिएको छ। परम्परागत राजनीतिक हेभीवेटहरूको विश्राम र ३८ वर्षीय ऊर्जावान् युवा शर्माको उदयले यो क्षेत्रको चुनावी नतिजा उलटपुलट हुने संकेत देखिएको छ। कांग्रेसले पुस्तान्तरण र रूपान्तरणको नारासहित शर्मालाई मैदानमा उतारेपछि मतदातामा जुन उत्साह देखिएको छ, त्यसले उनलाई जितको बलियो हकदारका रूपमा उभ्याएको छ।

पुरानो विरासत र नयाँ जोसको लडाइँ मानिएको यस क्षेत्रमा शर्माको बलियो पकड र बढ्दो लोकप्रियताले उनलाई जितको नजिक पुर्‍याएको चर्चा सुरु भएको छ।

‘शंखरापुर, नाङ्लेभारे, साँखु लगायतका स्थान मेरा लागि चुनावी नक्साका भूगोल मात्र होइनन्, यी त मेरो मन मुटुमा बसेका क्षेत्र हुन । आज चुनावको बेला भोट माग्न मात्र म यहाँ आएको होइनस यहाँका गल्ली र चोकहरूसँग मेरो नाता त चुनावको चर्चा हुनुभन्दा धेरै अघिदेखिको हो। हिजो तपाईँहरूको सुख(दुःखमा साथै हुँदा जति अपनत्व महसुस हुन्थ्यो, आज घरदैलोमा आउँदा तपाईँहरूले दिनुभएको यो न्यानो माया र आशीर्वादले मलाई झनै भावुक बनाएको छ,’ शर्मा भन्छन्,‘चुनावी माहोल आउँछ र जान्छ, तर यो माटोसँगको मेरो सम्बन्ध कहिल्यै फेरिने छैन। हिजो एउटा शुभचिन्तकको रूपमा तपाईँका समस्या सुन्न आउँथेँ, भोलि एक सेवकको रूपमा ती समस्या समाधान गर्न आउनेछु। तपाईँहरूले ममाथि देखाउनुभएको यो अगाध भरोसालाई म कहिल्यै टुट्न दिने छैन। यो मेरो राजनीति मात्र होइन, मेरो आफ्नै घरप्रतिको जिम्मेवारी हो। यो अपार स्नेह र साथका लागि म सधैँ ऋणी रहनेछु।’

नयाँ अनुहारको खोजी र कबिरको उदय

काठमाडौँ–२ सधैँ प्रयोगवादी मतदाता भएको क्षेत्र मानिन्छ। २०७४ मा वाम गठबन्धन र २०७९ मा रास्वपालाई रोजेका यहाँका मतदाता यस पटक स्थानीय र पहुँचयोग्य उम्मेदवारको खोजीमा थिए। कांग्रेसका क्षेत्रीय सभापति समेत रहेका शर्मा सोही रिक्तता पूर्ति गर्ने उम्मेदवारका रूपमा देखिएका छन्। थलीदेखि कोटेश्वरसम्म र साँखुदेखि मूलपानीसम्मका गल्लीहरूमा अहिले एउटै चर्चा छ–यसपालि पार्टी होइन, पहुँचयोग्य र युवा नेता रोज्ने।

स्टन्ट होइन सोलुसन
कबिर शर्माको लोकप्रियताको अर्को कारण उनको प्रष्ट दृष्टिकोण हो। उनले ठुला र असम्भव सपनाभन्दा स्थानीयले भोगिरहेका दैनिक सास्तीलाई चुनावी एजेन्डा बनाएका छन् । दशकौँदेखि धुलो र हिलोको चपेटामा परेको थली–साँखु सडकको स्थायी समाधान, प्रविधिमैत्री मूलपानी र साँखु , कृषि र पर्यटनलाई प्रविधिसँग जोडेर स्थानीयलाई स्वरोजगार बनाउने योजना, विदेशिन बाध्य युवाहरूका लागि निर्वाचन क्षेत्रमै इन्नोभेसन सेन्टर र स्टार्टअप सपोर्ट।

‘हामीले भाषण धेरै सुन्यौँ, अब काम गर्ने मान्छे चाहिएको छ। कबिर हाम्रो आफ्नै माटोको छोरो हुन्,’ घरदैलोका क्रममा एक स्थानीय वृद्धले उत्साह व्यक्त गरे।

युवा नेतृत्वमा मतदाताको भरोसा

काठमाडौँ २ ले सधैँ नयाँ र प्रभावकारी उम्मेदवारलाई रोज्ने गरेको इतिहास छ। यस पटक कांग्रेसले क्षेत्रीय सभापति समेत रहेका स्थानीय युवा कबिर शर्मालाई टिकट दिएर पुस्तान्तरणको सन्देश दिएको छ। निर्वाचन क्षेत्रका थली, साँखु, मूलपानी र कोटेश्वर क्षेत्रका मतदाताहरूमाझ शर्माको सरल स्वभाव र विकासवादी सोचले सकारात्मक प्रभाव पारेको देखिन्छ। विशेष गरी युवा र पहिलो पटक मतदान गर्न लागेका मतदाताहरू उनीप्रति निकै आकर्षित देखिएका छन्।

स्थानीय मुद्दा र प्रष्ट दृष्टिकोण

कबिर शर्माले राजनीति केवल भाषण होइन, समाधान हो भन्दै आफ्ना एजेन्डाहरू अघि सारेका छन्। उनले मुख्य रूपमा निम्न कुरालाई प्राथमिकता दिएका छन् ।

पूर्वाधार र सडक : वर्षौँदेखि अलपत्र थली(साँखु सडकको दिगो समाधान र जरसिंहपौवाको पर्यटन विकास।

पिउने पानी र ढलः मूलपानी र आसपासका क्षेत्रमा खानेपानीको समस्या समाधान र ढल निकासको वैज्ञानिक व्यवस्थापन।

युवा उद्यमशीलता: विदेशिने युवाहरूलाई रोक्न स्थानीय स्तरमै प्रविधि र सीपमा आधारित रोजगारीका अवसर।

लालकिल्ला तोड्ने र घण्टी रोक्ने रणनीती

विगतमा एमालेको बलियो पकड रहेको र २०७९ मा राष्ट्रिय स्वतन्त्र पार्टीले जितेको यस क्षेत्रमा कबिर शर्माले दुवै पक्षको मत तान्न सफल भइरहेको राजनीतिक विश्लेषकहरूको भनाइ छ। एमालेका मणिराम फुँयाल र रास्वपाका सुनिल केसीसँगको त्रिपक्षीय प्रतिस्पर्धामा शर्मा आफ्नो छवि र एजेण्डाका कारण लोकप्रिय बनिरहेका छन् ।

शर्माको चुनावी अभियानमा देखिएको जनसहभागिताले उनलाई थप ऊर्जा दिएको छ। यो पटक परीक्षण पुरानाको होइन, नयाँ जोसको हुनुपर्छ भन्ने आम मतदाताको भनाइले शर्मालाई बलियो प्रतिस्पर्धीका रूपमा उभ्याएको छ। कांग्रेसका कार्यकर्ता मात्र नभई स्वतन्त्र र अन्य दलका समर्थकहरूले समेत शर्माको पक्षमा सकारात्मक प्रतिक्रिया दिनुलाई उनको जितको आधारका रूपमा हेरिएको छ।

३८ वर्षको उमेरमा संसदीय यात्रा सुरु गर्न लागेका कबिर शर्माले काठमाडौँ २ मा कांग्रेसको गुमेको साख मात्र फर्काउने छैनन्, बरु युवा नेतृत्वको नयाँ मानक स्थापित गर्ने अपेक्षा गरिएको छ। फागुन २१ को नतिजाले यस उत्साहलाई औपचारिक छाप लगाउनेछ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर