सिन्धुपाल्चोक– सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का नेकपा उम्मेदवार युवराज दुलाललाई हेलम्बुवासीले खाजा खर्च दिएका छन् ।
चुनावी घरदैलोको क्रममा हेलम्बु गाउँपालिका-२ चुरेटारका स्थानीयले पैसा उठाएर उम्मेदवार दुलाललाई सहयोग गरेका हुन् ।
आज बिहान चुनावी घरदैलोको क्रममा चुरेटारका ३ जनाले आफ्नो गाउँमा घरदैलोको क्रममा खाजा र चिया खानका लागि भन्दै ६ हजार ५०५ रूपैयाँ सहयोग गरेका हुन् ।
चुरेटारका भीमबहादुर बरूवालले ५ हजार, बलबहादुर ज्योतीले ५०५ सय, भीम कुमारी ज्योतिले १ हजार रूपैयाँ सहयोग गरेका हुन् ।
`विकास प्रेमी नेता युवराज दुलाललाई हाम्रो गाउँमा हिँड्दा खाजा र चिया खानका लागि खर्च दिएका हौं´ भीम कुमारी ज्योतिले भनिन् `उहाँले यसअघि आफू जितेको ठाउँमा धेरै विकास गर्नु भएको रहेछ । अब हाम्रो ठाउँमा पनि उहाँले जितेर विकास गर्नुहुन्छ भन्ने आशा छ ।´
`चौतारा र इन्द्रावतीमा उहाँले विकासको बाकस खोल्नु भएको रहेछ´ ज्योतिले भनिन् ` यसअघि हामीले धेरैलाई जितायौं तर कसैले केही गरेनन् अब युवराज दुलालले जितेपछि हाम्रो ठाउँमा पनि विकासको बाक्सा आउँछ भन्नेमा ढुक्क छौं ।´



