काठमाडौं । नेपाली कांग्रेसले बदलिएको राजनीतिक परिस्थिति र जनचाहना अनुसार पार्टीलाई पूर्णतः रूपान्तरण गर्ने संकल्प गर्दै समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूलाई पार्टीमा आबद्ध हुन खुला आह्वान गरेको छ। पार्टी सभापति गगनकुमार थापाको नेतृत्वमा कांग्रेसले सुशासन, समावेशिता र समृद्धिलाई मुख्य एजेण्डा बनाउँदै ‘नयाँ कांग्रेस’ निर्माणको अभियानलाई तीव्रता दिएको हो।
पार्टीका प्रवक्ता एवं केन्द्रीय प्रचार प्रसार समितिका संयोजक देवराज चालिसेले एक विज्ञप्ति जारी गर्दै वैकल्पिक शक्ति निर्माणमा विश्वास राख्ने र समाज रूपान्तरणमा रुचि राख्ने बौद्धिक तथा पेसागत वर्गलाई कांग्रेसको मञ्चमा स्वागत गर्ने घोषणा गर्नुभएको छ।
विज्ञ र युवालाई विशेष प्राथमिकता
कांग्रेसले विशेषगरी चिकित्सा, शिक्षा, कानून, उद्योग, सूचना–प्रविधि, कृषि, श्रम तथा नागरिक समाजका क्षेत्रमा सक्रिय रहेका व्यक्तिहरूलाई राजनीतिमा जोडिन आग्रह गरेको छ। विज्ञप्तिमा भनिएको छ, “देश र लोकतन्त्रको सुदृढीकरणका लागि नयाँ सोच, नवीन ऊर्जा र अनुभवी व्यक्तित्वहरूको सहभागिता अपरिहार्य छ। उहाँहरूको विज्ञतालाई देशको समृद्धिसँग जोड्न कांग्रेस प्रतिबद्ध छ।”
संस्थागत मूल्य र पारदर्शिताको नयाँ मानक
सभापति थापाको नेतृत्वमा कांग्रेसले संगठन सुदृढीकरण, नीतिगत स्पष्टता र जनविश्वास पुनःस्थापनालाई उच्च प्राथमिकतामा राखेको प्रवक्ता चालिसेले बताउनुभएको छ। पार्टीले अब व्यक्तिको क्षमताभन्दा संस्थागत मूल्य, पारदर्शिता र जवाफदेहितामा आधारित राजनीतिलाई कडाइका साथ अवलम्बन गर्ने दाबी गरेको छ।
ऐतिहासिक संक्रमणको यस घडीमा परम्परागत राजनीतिक शैलीलाई विस्थापित गर्दै नीतिमा आधारित राजनीतिको संस्कार बसाल्न कांग्रेसले यो कदम चालेको बुझिएको छ। प्रवक्ता चालिसेले राष्ट्र निर्माणको यस महाअभियानमा सहभागी भई लोकतान्त्रिक मूल्य र आदर्शलाई थप सशक्त बनाउन इच्छुक सबै महानुभावहरूलाई कांग्रेसको सदस्य बनेर योगदान दिन अपिल गरेेका छन् ।



