काठमाडौं : बारा क्षेत्र नं. ३ का राष्ट्रिय स्वतन्त्र पार्टीका क्षेत्रीय उपसभापति रोशन कुमार अधिकारी उज्यालो नेपाल पार्टीमा प्रवेश गर्नुभएको छ। पार्टी अध्यक्ष तथा पूर्व मन्त्री कुलमान घिसिङले अधिकारीलाई पार्टीको ब्याच र टोपी लगाइदिँदै औपचारिक रूपमा पार्टीमा स्वागत गर्नुभएको हो।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै अधिकारीले राष्ट्रिय स्वतन्त्र पार्टीले जनतालाई धोका दिइरहेको आरोप लगाउनुभयो। उहाँले उक्त पार्टी जनमुखी नभई धनी वर्गको पक्षमा केन्द्रित पार्टी बनेको दाबी गर्दै जनताको वास्तविक मुद्दा उठाउन नसकेको बताउनुभयो। साथै सामाजिक सञ्जालबाट मात्रै देश विकास सम्भव नहुने उल्लेख गर्दै व्यवहारिक काम र जनतामाझ गएर राजनीति गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
उहाँले उज्यालो नेपाल पार्टी जनतामाझ बसेर, जनतासँगै काम गरेर अघि बढेको पार्टी भएको बताउँदै यही पार्टीमार्फत देशलाई उज्यालो बनाउने अभियानमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा पार्टी अध्यक्ष कुलमान घिसिङले उज्यालो नेपाल पार्टी जनआधारित नेतृत्व र कर्ममा विश्वास गर्ने पार्टी भएको बताउँदै देश परिवर्तनका लागि इमानदार र कर्मशील व्यक्तिहरूको सहभागिता आवश्यक रहेको धारणा राख्नुभयो। अधिकारीको पार्टी प्रवेशले उज्यालो नेपाल पार्टीलाई थप सशक्त बनाउने विश्वाससमेत उहाँले व्यक्त गर्नुभयो।


