काठमाडौं । नेपाल प्रहरीले निर्वाचन प्रहरीका लागि आवश्यक पर्ने लत्ताकपडा,जुत्ता लगायतको सामाग्री खरिदको जिम्मा पुरानै ठेकेदारहरुको समूहलाई बिनाटेन्डर गोप्यरुपमा दिएको खुलेको छ । दानबहादुर कार्की प्रहरी प्रमुख भए पछि ठेक्का सेटिड़ सुधार हुन्छ भन्ने धेरै व्यवसायीहरूको अपेक्षा थियो। तर, प्रहरीमा सधैं सेटिङमा ठेक्का कब्जा गर्दै आएको समूहलाई नै प्रहरीको आर्थिक तथा प्रबन्ध निर्देशनालयले गोप्यरुपमा बिना टेन्डर निर्वाचन प्रहरीको लत्ताकपडा, जुत्ता लगायतका सामग्री खरिदको लागि जिम्मा दिएको स्रोतको दाबी छ ।

स्रोतका अनुसार निर्वाचन प्रहरीको लागि लत्ताकपडा , जुत्ता लगायत खरिदको काम बिना टेन्डरनै टोपेन्द्र बीसी, श्रवण अग्रवाल, ज्ञानेन्द्र बस्नेत,रितेश अग्रवाल, वीरेन्द्र जोशी लगायतले पाइसकेका छन् । गोप्यरुपमा उनीहरुरुलाई बिभिन्न किसिमका सामानको ठेक्का दिइसकिएको छ , जसमा ठूलो रकम चलखेल भएको स्रोत बताउंछ। स्रोतका अनुसार सेटिङका यी ठेकेदारहरुलाई प्रबन्ध निर्देशनालयका डीएसपी प्रकाश थापाले निर्वाचन प्रहरीका लागि आवश्यक सामान आपूर्तिको जिम्मा दिइसकेका छन् ।

प्रबन्धका हाकिमहरुको आदेश अनुसार सेटिङमा ठेक्का पाएका ठेकेदारहरुले लत्ताकपडा सिलाउन र जुत्ताहरु बनाउन सुरु गरिसकेका छन् । तर प्रबन्धका कर्मचारी तथा डीएसपी थापाले भने लत्ताकपडा खरिदको निर्णय नभइसकेको भन्दै काम माग्न आउने अन्य आपूर्तिकर्ता हरुलाई जवाफ दिने गरेका छन् ।

निर्वाचन प्रहरीका लागि सामान आपूर्तिको ठेक्काका लागि विभिन्न च्यानल प्रयोग गर्दै जाने ठेकेदारहरुलाई प्रबन्धका डीएसपी थापाले केही निर्णय भइनसकेकाले आउँदै गर्नू भनेर फर्काउने गरेकाे एक आपूर्तिकर्ताले बताए । चुनावको मिति आउन अब डेढ महिनामात्र बाँकी छ, निर्वाचन प्रहरी भर्नाका लागि आवेदन दिने अवधि माघ १ गते सकिसकेको छ । तर निर्वाचन प्रहरीका लागि लत्ताकपडा तयार गर्न भने निर्णय नभइसकेको भन्दै प्रबन्ध निर्देशनालयले गुमराहमा राख्ने काम गरेको छ । माघ अन्तिमसम्म झुलाउने र १० दिन अगाडि ‘तपाईहरुले काम गर्नसक्नुहुन्छ’ भनेर सोध्ने, १० दिनमा सामान कसैले पनि दिन सक्दैन । अनि तिनै सेटिङ ठेकेदारबाट सामान खरिद गर्ने निर्णय गर्न बाटो खुल्नेछ । उनीहरुले सेटिङमा पहिले नै सामान तयार गरिसकेकाले सहजै दिनसक्छन् ।

छोटो अवधिमा बोलपत्र निकाली प्रतिस्पर्धामार्फत् खरिद गर्नुपर्नेमा सेटिङमा निश्चित सेटिङका ठेकेदारहरुलाई गोप्यरुपमा निर्वाचन प्रहरीको लत्ताकपडाको काम दिइसकिएको प्रहरी स्रोतको दाबी छ । कार्कीले निर्वाचन प्रहरीका लागि आवश्यक लत्ताकपडाको ठेक्काको काम प्रबन्ध निर्देशनालयले हेर्ने हो भन्दै पन्छिने गरेका छन् । तर निर्वाचन प्रहरीका लागि आवश्यक १ अर्ब रुपैयाँभन्दा बढी बजेटको ठेक्कामा टोपेन्द्र बीसी र श्रवण अग्रवालको रैथाने ठेकेदारको समूहले नेपाल प्रहरीका पूर्व डीएसपी गणेश चन्दमार्फत् आईजीपी कार्कीकै पारिवारिक सदस्यसँग सेटिङ मिलाएर ठेक्का हात पारी लत्ताकपडा तयार गर्न थालिसकेको स्रोत बताउँछ । चन्दमार्फत् निर्वाचन प्रहरीको लत्ताकपडा खरिदको बजेटको निश्चित प्रतिशत ती पारिवारिक सदस्यलाई एडभान्स अग्रिम बुझाएर बीसी र अग्रवाल लगायत ठेकेदारको समूहले काम सुरु गरिसकेको स्रोत बताउँछ । १ लाख ३३ हजार ९ सय ८० संख्यामा निर्वाचन प्रहरी नेपाल प्रहरीले माग गरेको छ । निर्वाचन प्रहरीको लत्ताकपडा लगायतका लागि करिब १ अर्ब रुपैयाँ भन्दा बढी बजेट रहेको छ ।

गृहमन्त्रालय के गर्दैछ ?
जेनजीको बिद्रोहपछि सुशासनको लागि गठन भएको नागरिक सरकारले प्रहरीमा विनाप्रतिस्पर्धा हुन लागेको खरिदको यो डरलाग्दो सेटिङका बारेमा चासो राख्छ कि राख्दैन ? भन्ने प्रश्न पछि उठेको छ ।निर्वाचन प्रहरीको कपडा, जुत्ता लगायतका सामान के कति दररेटमा खरिद गरिंदैछ भन्ने गृहमन्त्रालयले समेत चासो लिनुपर्ने प्रहरी अधिकारी बताउँछन् । यसअघि गएको भदौमा प्रहरीको लत्ताकपडा लगायतको खरिदमा ४८ करोड भन्दा बढी अनियमितता भएको बिषयमा चर्चा परिचर्चा भएपछि गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनमा टेण्डर रद्द भएको थियो । निर्वाचन प्रहरीको लत्ताकपडाको ठेक्कामा पनि सेटिङ भएको बिषयमा गृहमन्त्रालयले चासो दिनुपर्ने आवाज उठेको छ ।

नेपाल प्रहरीको बन्दोबस्तीदेखि सबै सामान खरिद गर्ने आर्थिक तथा प्रबन्ध निर्देशनालयको टीम आईजीपी कार्कीले आफू नियुक्ति हुन केही दिनअघि नै थिए । कार्कीले आफू आउनुअघि नै इन्स्पेक्टरदेखि डीएसपी परिवर्तन गरेका थिए । उनले प्रबन्ध निर्देशनालयको डीएसपीमा प्रकाश थापा र इन्स्पेक्टरमा ईश्वरी अधिकारीलाई ल्याएका थिए । डीएसपी थापा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट र अधिकारी लुम्बिनी प्रदेश ट्राफिक कार्यालयबाट प्रबन्धमा लगिएका थिए ।

चन्द्रकुवेर खापुङको एक महिना कार्यकाल बाँकी हुँदै कार्कीले यो टीम सेट गरेका थिए । इन्स्पेक्टर अधिकारी कार्कीकै गृहजिल्ला गुल्मीका भएकाले उनकै विशेष चाहनामा प्रबन्धमा भित्र्याइएको चर्चा प्रहरीवृत्तमै सुनिएकाे छ। आईजीपी कार्कीले ल्याएको यो टीमसँग बर्षौंदेखि सेटिङमा प्रहरीको ठेक्का कब्जा गर्दैआएको ठेकेदारको समूहको हिमचिम रहेकाले निर्वाचन प्रहरीको लत्ताकपडा पनि त्यही सिन्डीकेट कायम भएको स्राेतकाे दाबी छ । प्रतिस्पर्धाका आधारमा ठेक्का दिएर जेनजीको भावनाअनुसार काम गर्नुपर्नेमा प्रबन्धको टीमले सेटिङकै ठेकेदारलाई निर्वाचन प्रहरीको लत्ताकपडाको ठेक्का दिएको आरोप छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर