काठमाडौं : समावेशी समाजवादी पार्टीले आगामी निर्वाचनका लागि सार्वजनिक गरेको समानुपातिक बन्द सूचीमा सन्जीवनी लोप्चन (सन्ध्या)को नाम समावेश भएपछि यसलाई सीमान्तकृत समुदायका लागि आशाको संकेतका रूपमा हेरिएको छ। लामो समयदेखि महिला, दलित, तेस्रोलिङ्गी, श्रमिक, किसान तथा पिछडिएको वर्गका हक–अधिकारका पक्षमा निरन्तर आवाज उठाउँदै आएकी लोप्चनको चयनलाई पार्टीले आफ्नो समावेशी राजनीतिक दर्शनको व्यवहारिक अभिव्यक्ति भनेको छ।

लोप्चन भन्छिन्, “यो मेरो व्यक्तिगत उपलब्धि होइन। राज्यका नीति र निर्णय प्रक्रियाबाट सधैँ टाढा राखिएका समुदायहरूको संघर्षप्रति गरिएको सम्मान हो।” उनका अनुसार, समानुपातिक प्रणालीले सत्ताको मूलधारमा नपुगेका आवाजलाई संसदसम्म पुर्‍याउने लोकतान्त्रिक सेतुको काम गर्छ।

पार्टी स्रोतका अनुसार लोप्चनको राजनीतिक यात्रा नारामा सीमित छैन। उनी समुदायस्तरमै पुगेर अधिकार, पहिचान र समान अवसरका विषयमा निरन्तर सक्रिय रहँदै आएकी छन्। यही पृष्ठभूमिका कारण उनलाई समानुपातिक सूचीमा समावेश गरिएको पार्टीको दाबी छ।

राजनीतिक विश्लेषकहरू लोप्चनको नाम समेटिनुलाई चुनावी रणनीतिमात्र नभई राजनीतिमा विश्वास गुमाउँदै गएको वर्गलाई पुनः जोड्ने प्रयासका रूपमा व्याख्या गर्छन्। “समावेशी प्रतिनिधित्व कागजमा होइन, अनुहार र आवाजमा देखिनुपर्छ,” एक विश्लेषक भन्छन्, “लोप्चन त्यसको उदाहरण बन्न सक्छिन्।”

लोप्चनले मतदातासँग भावुक अपिल पनि गरेकी छन्। “मेरो शक्ति पद होइन, जनताको विश्वास हो,” उनले भनिन्, “यदि पार्टीलाई जनमत मिल्यो भने म संसदभित्र र बाहिर दुबै ठाउँ कमजोर वर्गको आवाज बनेर उभिनेछु।”

उनले मतदातालाई समावेशी समाजवादी पार्टीको चुनाव चिह्न ‘श्रीवत्स अन्नत गाँठोमा मतदान गर्दै समावेशी, न्यायपूर्ण र समाजवादी नेपाल निर्माणको यात्रामा सहभागी हुन आग्रह गरेकी छन्।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको