काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले साढे ३ महिना खटेर काम गरेको भन्दै ऊर्जा,जलस्रोत तथा सिञ्चाइ मन्त्री कुलमान घिसिङले प्रशंसा गरेकी छन् । आज घिसिङले मन्त्री पदबाट दिएको राजीनामा बुझ्दै प्रधानमन्त्री कार्कीले साढे तीन महिना तीनवटा महत्त्वपूर्ण मन्त्रालयको कुशल नेतृत्व प्रदान गरेकोमा घिसिङलाई धन्यवाद दिइन् ।

उनले विकास प्रक्रियामा देखिएका विकृति र विसङ्गतिविरुद्ध कठोर निर्णय लिन घिसिङले देखाएको साहसलाई पनि सराहना गरिन् । ‘निकै प्रतिकूल अवस्थामा तपाईँले यो सरकारमा सामेल भएर देशका निम्ति ठूलो गुन लगाउने गरी काम गर्नुभएको छ,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘रातदिन नभनी खट्नुभयो । देशका विभिन्न भागमा पुग्नुभयो । विपद्का बेला उस्तै सक्रिय रहनुभयो । विपद्ग्रस्त क्षेत्रमा आफैँ पुगेर खट्नुभयो । हाम्रो विकास निर्माणका बेथितिहरुविरुद्ध कठोर कदम चाल्नुभयो । यो कुरा देशले सम्झनेछ। जनताले मूल्यांकन गर्नुहुनेछ।’ प्रधानमन्त्री कार्कीले विकास निर्माण, विपद् व्यवस्थापन र प्रशासनिक सुधारका क्षेत्रमा घिसिङको सक्रियता स्मरणीय रहेको उल्लेख गर्दै निरन्तर फिल्डमा खटिएर काम गरेको योगदानलाई देशले सम्झिरहने बताइन् ।

निकै प्रतिकूल अवस्थामा सरकारमा सामेल भएर देशका निम्ति ठूलो गुन लगाएको पनि बताइन् । प्रधानमन्त्री कार्कीले घिसिङको आगामी राजनीतिक यात्राका लागि शुभकामना दिँदै भविष्यमा अझ ठूलो जिम्मेवारी सम्हाल्न सक्ने क्षमता रहेको विश्वास व्यक्त गरिन् । घिसिङ जेनजी आन्दोलनपछि ३ वटा मन्त्रालय समहाल्नेगरि सरकारमा सहभागि भएका थिए । जेनजीहरुले घिसिङलाई मन्त्रीका रुपमा अघि सारेका थिए ।

उज्यालो नेपाल बनाउन लाग्छु : घिसिङ
मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङले उज्यालो नेपल बनाउन आफ्नो अबको बाटो राजनीतिक यात्रा नै हुने बताएका छन् । प्रधानमन्त्रीसहितको आग्रहपछि घिसिङले बुधबार साँझ प्रधानमन्त्री  कार्कीलाई भेटेर राजीनामा बुझाएका छन् । यस्तै सरकारभन्दामाथि जनता भएको उल्लेख गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीसँग भएको सहमतिमा आफ्नो नाम उल्लेख भए पनि अहिलेसम्म सहमति कार्यान्वयनमा नआएको बताए ।

उनले अब भोलिबाटै आफू पूर्ण रुपमा राजनीतिमा सक्रिय हुने बताएका छन् । यसअघि पूरा मन्त्रालयमै काममा व्यस्त भएको भन्दै अब भने खुला रुपमा राजनीतिमा लाग्ने बताए । ‘म पदबाट बाहिरिएको छु । तर जनताको पक्ष, राष्ट्रको हित र सत्यको बाटोबाट कहिल्यै बाहिरिने छैन,’ उनले भने, ‘उज्यालो नेपाल बनाउन सशक्त रुपमा अबको मेरो बाटो राजनीतिक यात्रा हुनेछ । र यसैमा म अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’ घिसिङले देशभित्रको समसामयिक विषयलाई लिएर, अहिलेको परिस्थिति र अवस्थालाई परिवर्तन गर्नका लागि राजनीतिक नेतृत्वमा जान चाहेको बताए ।

‘अब त्यो समय आएको छ । भोलिदेखि नै मेरो राजनीतिक जीवन सुरु हुन्छ । भोलिदेखि नै प्रभावकारी हुन्छ,’ घिसिङले भने, ‘देशभित्रको समसामयिक विषयलाई लिएर, अहिलेको परिस्थिति र अवस्थालाई परिवर्तन गर्नका लागि राजनीतिक नेतृत्वमा जानका लागि आज मन्त्रिपरिषद्बाट राजीनामा दिएर अघि बढेको छु ।’ घिसिङ यसअघि नै रास्वपासँगको समझदारी अनुसार, सो पार्टीको उपसभापति बन्ने समझदारी भइसकेको थियो ।

तर, घिसिङले उक्त समझदारी कार्यान्वयन नभइसकेको बताएका छन् । ‘उज्यालो नेपाल पार्टी र रास्वपाबीच भएको सहमतिमा मेरो नाम उल्लेख भएको भए पनि उक्त समझदारी हालसम्म कार्यान्वयनमा आएको छैन,’ मैले अहिलेसम्म कुनै पनि राजनीतिक पार्टीको सदस्यता लिएको छैन ।’

घिसिङ गत भदौ ३० गते मन्त्री नियुक्त भएका थिए ।

यस्तो छ राजीनामा पत्र

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको