काठमाडौ : नेपाली कांग्रेसका नेता कल्याण गुरूङले केन्द्रीय समितिबाहेकलाई महाधिवेशन गराउने अधिकार नरहेकाे बताएका छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्ष विशेष महाधिवेशनतर्फ अघि बढिरहेका बेला नेता गुरूङले यस्ताे बताएका हुुन् ।

नियमित वा विशेष जुन महाधिवेशन भएपनि त्यसकाे आयाेजना केन्द्रीय समितिले गर्नुपर्ने उनकाे मत छ । `अहिले सामाजिक संजालमा चलाईएको विशेष महाधिवेशनको हल्लालाई नेपाली कांग्रेसको विधानले वैधानिक तरिकाले चिन्दै चिन्दैन । यसैले अहिले पार्टीको विधान अनुसारको कुनै पनि विधि र प्रक्रिया पुरा नगरेको कारणले विशेष महाधिवेशन हुंदैन र हुन पनि सक्दैन,´ उनले भनेका छन्,`केही व्यक्तिहरुले बोलाएको भेला सानो गुटको भेला मात्र हुनेछ।´

गुरूङ भन्छन् –

नेपाली कांग्रेसको विधानले ‘नियमित’ होस् कि ‘विशेष’ होस्, ‘महाधिवेशन’ गर्ने अधिकार केन्द्रीय कार्य समितिलाई मात्र दिएको छ ।

केन्द्रीय कार्य समिति बाहेक कुनै पनि समिति, पदाधिकारी, सदस्य वा व्यक्तिलाई महाधिवेशन गर्ने अधिकार पार्टीको विधानले दिएको छैन ।

केन्द्रीय कार्य सम्पादन समितिले गरेको महाधिवेशन सम्बन्धी निर्णय पनि केन्द्रीय कार्य समितिबाट अनुमोदन गराउनु पर्ने पार्टीको वैधानिक व्यवस्था रहेको छ ।

केन्द्रीय कार्य समितिले अनुमोदन वा निर्णय नगरेसम्म महाधिवेशन सम्बन्धी निर्णय वैधानिकरुपले कार्यान्वयन हुन सक्दैन ।

२०८२ मंसिर १५ गते नै २०८२ पुष २६, २७ र २८ गते पार्टीको १५औं महाधिवेशन गर्ने निर्णय केन्द्रीय कार्य समितिले गरेको क्षण नै विशेष महाधिवेशनको औचित्य र आवश्यकता समाप्त भई सकेको छ ।

केन्द्रीय कार्य सम्पादन समितिले १५औं महाधिवेशन पुषमा गर्न नसकिने भएकोले मिति परिवर्तन गरि २०८३ बैशाख २८, २९, ३० र ३१ गते तोकि सकेको र मुलुक चुनावमा गैसकेको कारणले विशेष महाधिवेशनको सामाजिक संजालमा हल्ला गर्नुको कुनै औचित्य र आवश्यकता नै छैन ।

पार्टीको वैधानिक समितिले वैधानिक बाटोबाट वैधानिक तरिकाले वैधानिक प्रक्रियाहरु पुरा गरेको निर्णयहरु मात्रै वैधानिक हुन्छन् ।

अहिले सामाजिक संजालमा चलाईएको विशेष महाधिवेशनको हल्लालाई नेपाली कांग्रेसको विधानले वैधानिक तरिकाले चिन्दै चिन्दैन ।

यसैले अहिले पार्टीको विधान अनुसारको कुनै पनि विधि र प्रक्रिया पुरा नगरेको कारणले विशेष महाधिवेशन हुंदैन र हुन पनि सक्दैन ।

केही व्यक्तिहरुले बोलाएको भेला सानो गुटको भेला मात्र हुनेछ।

ढुक्क हुनु होस् ,
नेपाली कांग्रेसको विधान, विधि र प्रक्रिया अनुसार नभएको कुनै पनि महाधिवेशन वा बैठक वा भेला वा सम्मेलन वा विशेष महाधिवेशनलाई पार्टीको विधानले चिन्दैन ।

जय नेपाल !

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको