काठमाडौँ, १२ पुस । सरकारले निर्वाचनको वातावरण बनाउन आज प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल गर्दैछ । छलफलका लागि जेनजी आन्दोलनपछि देउवा-ओली र प्रचण्ड पहिलाेपटक बालुवाटारमा एकसाथ पुगेका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न लागेकी हुन् ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार प्रधानमन्त्रीले तीन दलका शीर्ष नेतासँग आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्दैछन् ।
निर्वाचनको अन्तिम तयारी र दलहरूबीचको थप समन्वयका लागि प्रधानमन्त्री कार्कीले शीर्ष नेताहरुसँग छलफल गर्न लागेकी हुन् ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको मध्यस्थतामा शीतल निवासमा प्रधानमन्त्री कार्कीसँग कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डसँग छलफल गरेका थिए । निर्वाचनको वातावरण बनाउन सरकारका प्रवक्ता खरेलले शुक्रबार देउवा, ओली र दाहालसँग उहाँहरुकै निवासमा पुगेर छलफल गरेेका थिए ।



